संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास हुँदैनः महासचिव पोखरेल

बागलुङ, १० पुस
नेकपा एमालेका महासचिव इश्वर पोखरेलले अहिलेको सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पास नहुने बताएका छन् । उनले अहिले ल्याइएको संविधान संशोधन विधेक नेपाल र नेपालीको हित विपरीत भएकोले कुन पनि हालतमा पास हुन नदिने बताए ।
संशोधन प्रस्ताव संविधानको खुलेआम उल्लंघन भएको बताउँदै पोख्रेलले राष्ट्रिय हितविपरित र साम्प्रदायिक सदभाव खल्वलाउने गरी ल्याइएको संशोधन प्रस्तावमा आफूहरुले कुनै हालतमा छलफल गर्न नदिने बताए ।
प्रेस चौतारी बागलुङले आज विहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले नेपालको संविधानमा प्रदेशहरुको संशोधनको लागि प्रदेश सरकारले निर्णय गरेर मात्र केन्द्रिय सरकारले संशोधन गर्नुपर्ने रहेको बेला अहिलेको सरकारले संविधानलाई मिचेर अगाडी बढेको बताए ।
संविधान जारी गर्न दिन हुन्न भन्नेहरुले नै संविधान कार्यान्वयनमा समेत बाधा पु¥याइरहेको बताउँदै पाख्रेलले संशोधन प्रस्तावमा उल्लेखित बुँदाहरु समेत त्यसैबाट प्रभावित भएको आरोप लगाए ।
पोखरेलले देशमा भाषिक युद्ध गराउने योजना अनुरुप सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको आरोप लगाएका छन् । संशोधन प्रस्तावमा भाषाको कुरा समेत राखेर हिन्दी भाषालाई सरकारी कामकाजको भाषाको अनुसूचीमा राख्ने र नेपालमा भाषिक युद्ध गराउने योजनासहित प्रस्ताव ल्याइएको पोखरेलले बताए ।
‘संविधानमा किटान गरिएको बिषय संशोधन हुन नसक्ने भएकोले संसदमा प्रवेश गर्न नदिएको हो’ पोखरेलले भने, ‘निर्वाचनलाइ ओझेलमा पार्नका लागि प्रधानमन्त्रीले अलमलिने प्रस्ताव ल्याउका हुन् ।’ प्रस्ताव फिर्ता लिएर वा स्थगत गरेर निर्वाचनको वातावरण बनाउन लाग्नुपर्ने उनले सुझाव पनि दिए ।
पोखरेलले संविधान संशोधनको प्रस्तावलाइ विभिन्न ६ विषयमा आलोचना गरेका छन् । उनले राष्ट्रिय हित विपरित, जनभावना विपरित, सामाजिक सद्भाव खलवलिने, राष्ट्रिय एकतामा खलल पुग्ने, संविधानको धारा २७४ विरुद्ध, अदालतको अपहेलना हुने लगायत काम सत्ता पक्षले गरेको टिप्पणी गरेका हुन् ।
५ नम्बर प्रदेश टुक्राउने गरी प्रचण्ड सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव जनताको चाहना विपरीत ल्याइएको बताए । ‘प्रधानमन्त्री र शेरबहादुर देउवाले कसको एजेण्डा बोकेका छन् ?’ उनले भने, ‘संसारका कुनै देशमा नभएको प्रावधान ल्याउन खोजेर नेपालीलाइ धोका दिइरहेका छन् ।’ अंगिकृत नागरिकलाइ प्रमुख पदमा लैजाने, हिन्दी भाषालाइ राष्ट्रिय भाषाको मान्यता दिने जस्ता द्वन्द्व निम्तिने गरी प्रस्ताव गरिएको भन्दै उनले आपत्ति जनाए ।
संविधान जारी गर्न नदिएकाहरुको विरुद्ध राजनीतिक दल एक भएर जारी भएको उनले स्मरण गर्दै पोखरेलले संविधान जारी गर्न नदिनेले कार्यान्वयन कसरी गर्छन् हेरौंला भन्दै औला ठड्याएको र अहिले त्यसैको आडमा अवरोध आएको आरोप लगाए ।
प्रेस चौतारी बागलुङका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनको स्वागत उपाध्यक्ष नविन शिशिर विक र संचालन सचिव सिर्जना पन्तले गरेकी थिइन ।