
बागलुङ, ४ पुस
बागलुङको पश्चिम क्षेत्रमा सशस्त्र द्वन्द्वकालमा विस्थापित भएको नेपाल बैंक लिमिटेड गलकोट शाखा १५ वर्ष पछि पुर्नस्थापना भएको छ ।
बैंकको गलकोट शाखाले आइतबारदेखि नियमित बैङकीङ्ग सेवा हरिचौर गाविसबाट सुचारु गरेको हो । बैंकको आफ्नो भवन जीर्ण भैसकेकाले तत्कालका लागि भाडाको घरबाट सेवा सुरु गरेको नेपाल बैंक लिमटेड गलकोट शाखाका प्रबन्धक लक्ष्मण रखालले जानकारी दिए । बैंकको हरिचौरमा एक रोपनी जग्गामा आफ्नै भवन रहेको छ ।
विसं २०३३ सालमा स्थापना भएको बैंकको शाखा द्वन्द्वका कारण २०५८ सालमा विस्थापित भएको थियो । गलकोटवासीले निःशुल्क जग्गा दिएर ३३ सालमा बैंक स्थापना गरेको स्थानीयवासी बद्रिप्रसाद ढकालले बताए ।
बचत संकलन, कर्जा प्रवाह, रेमिट्यान्स, मोवाइल, इन्टरनेट बैंकिङ, एबीबीएस सेवा तत्काल सुरु गरेको र थप सेवा विस्तार गर्दै जाने प्रबन्धक रखालले बताए । स्थानीयवासीको लामो प्रयास र दवावपछि शाखा पुर्नस्थापित भएको स्थानीय ललित श्रीसले जानकारी दिए । ‘अब ६ प्रतिशत व्याजमा कृषि कर्जा पाइन्छ’, जनएकता कृषि तथा पशुपालन सहकारी हरिचौरका अध्यक्ष समेत रहेका श्रीसले भने, ‘स्थानीय विकास योजनाको रकम लिन सदरमुकाम जानुपर्ने बाध्यता हट्यो, कर्मचारीको तलब भत्ता पनि गाउँकै शाखाबाट पाउन सकिने भएकाले गलकोटवासी खुसी छौँ ।’
शान्ति स्थापनापछि शाखा पुनर्स्थापना गर्न गलकोटवासीले निरन्तर खबरदारी गरेपनि कार्यालय पहिलेकै स्थान हरिचौरमा राख्ने कि हटियामा भन्ने विषयमा स्थानीवासीबीच मत बाझिएपछि पुर्नस्थापनामा ढिलाई भएको थियो ।
नेपाल बैंकले यही साता गलकोट सहित खैरेनीटार शाखा (तनहुँ) र सुन्तलेटार शाखा (स्याङ्जा) पनि पुर्नस्थापना गरेको नायब प्रमुख कार्यकारी अधिकृत दुर्गराज रेग्मीले जानकारी दिए । बंैकमा शाखा प्रमुख सहित ३ जना कार्यरत रहेका छन् । बैक मार्फत गल्कोट क्षेत्र भित्र पर्ने १६ गाविसका स्थानीयवासी प्रत्येक्ष लाभाम्वित हुने छ ।









