
बागलुङ, २ पुस
नेकपा एमाले जिल्ला कमिटी बागलुङले आसन्न आठौँ जिल्ला अधिवेशनका लागि आज एकैसाथ जिल्लाभर प्रतिनिधि छनोट गरेको छ ।
राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान, संविधान कार्यन्वयनको लागि एमालेको अभियान’ भन्ने नाराका साथ पुस ९ देखि ११ गतेसम्म हुने अधिवेशनका लागि ५९ गाउँ विकास समिति, नगरपालिकाका ११ वार्ड र ५ शाखा स्तरबाट गरि ५ सय ८९ प्रतिनिधि चयन गरिने एमाले बागलुङले जनाएको छ । अधिकाशं स्थानमा सर्वसम्मत रुपमा जिल्ला प्रतिनिधि चयन गरिसकिएको र केहीमा सर्वसम्मतको प्रयास जारी रहेको नेकपा एमाले बागलुङका संगठन बिभाग प्रमुख बिष्णु भुषालले जानकारी दिनुभयो ।
बागलुङ बजारमा भव्य रुपमा शुरु हुने अधिवेशनको नेकपा एमालेका केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिनुभयो ।
प्रतिनिधि छनौट अन्तर्गत भीमापोखरा गाविसमा भएको नेकपा एमाले संगठित सदस्यहरुको भेलाले १७ सदस्य अधिवेशन प्रतिनिधी छनौट गरेको छ ।
छनौट प्रतिनिधीहरु अन्य तर्फ डिल्लीराज गौतम, दिपक गौतम, चन्द्रमणी उपाध्याय, खिम कार्की, टिकाराम सापकोटा, विद्यापति शर्मा र रामप्रसाद शर्मा, जनजाति तर्फ अमर थापा, कर्णबहादुर थापा, यामबहादुर थापा, दलित तर्फ नवीन विक, सोमबहादुर चर्मकार रहनुभएको छ ।
त्यस्तै महिला प्रतिनिधिमा गंगा शर्मा, नर्मदा गौतम, संगिता शर्मा, सविना गौतम र गिता हमाल रहनुभएको छ ।









