पुस्तक विक्रीबाट आएको रकम ओमकुमारी शान्ति कोषलाई

सन्दिप खत्री

म्याग्दी, २९ मंसीर/ म्याग्दीका एक साहित्यकारले आफ्नो पुस्तक विक्रिबाट प्राप्त भएको दश प्रतिशत रकम परोपकारी क्षेत्रमा सहयोग गरेका छन् । बेनी नगरपालिका ९ नेप्टेचौरका साहित्यकार शङ्कर चोखालले आफ्नो पुस्तक विक्रिबाट प्राप्त भएको रकम मध्यको १० प्रतिशत परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरेका छन् ।
“अतृप्त प्यास जिन्दगीको” नामक मुक्तक सङ्ग्रह विक्रि वितरणबाट प्राप्त रकम अन्य क्षेत्रमा खर्च नगरि परोपकारी क्षेत्रमै सहयोग गरेको चोखालले बताए । मंगलबार चोखालले ५ हजार ५ सय ५५ रुपैयाँ ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरेका छन् । गत असोजमा प्रकाशित उनको मुक्तक संग्रहको विमोचन कार्यक्रममा नै चोखालले १० प्रतिशत रकम ओमकुमारी शान्ति कोषलाई दिने घोषणा गरेका थिए ।अहिले अाफुले प्रतिबद्धता गरेको रकम हस्तान्तरण गर्दै चोखालले कोषको परोपकारी क्षेत्रका कृयाशिलता देखेर आफूले पनि उक्त अभियानमा आर्थिक सहयोग गरेको बताए ।
पछिल्लो समयमा पुस्तक प्रकाशन गरेर साहित्यकारहरुलाई लगानी उठाउन समेत कठिनाई भएको अवस्थामा चोखालको मुक्तक सङ्ग्रहले भने पाठक माझ लोक प्रिय बनेकोले उक्त रकम सहयोग गर्न सफल भएका हुन्। कोषका अध्यक्ष शाक्यले सबैको सहयोग र सद्भावले नै ओमकुमारी शान्ति कोषलाई सामाजिक कार्यमा लाग्न प्रेरणा मिलेको बताए । उनले भने–“हामीले निश्वार्थ भावले परोपकारी काममा जुटेका छौ, त्यसैले सबैको विश्वास जितेका छौ र नै सहयोग पाईरहेका छौ ।” कोषले आर्थिक अभावका कारण कसैले कुनै पनि रोगबाट अकालमै मृत्य वरण गर्न नपरोस् भन्ने उद्देश्यले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको उपचारका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।