
बागलुङ, २६ मंसिर
धौलागिरी अञ्चल सदरमुकाम बागलुङ बजारमा आगामी माघमा बागलुङ गोल्ड कप फुटबल प्रतियोगिता–२०७३ हुने भएको छ ।
माघे संक्रान्ति पर्वका अवसरमा आगामी माघ १ गतेदेखी ५ गते सम्म बागलुङको बाङ्गेचौर खेल मैदानमा फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक दलित युवा सञ्जाल बागलुङले जनाएको छ ।
सञ्जालले आइतवार बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन गरि आञ्चलिक रुपमा फुटबल गतिविधि उल्लेख्य नभएकाले राष्ट्रिय स्तरमा समेत सन्देश प्रवाह हुने गरी प्रतियोगिता आयोजना गरिएको सञ्जालका सचिव राहुल बोहराले बताए ।
दुई बर्ष अघि सम्म नियमित इमेज गोल्ड कप आयोजना गर्दै आएको सञ्जालले त्यस यता प्रतियोगिता आयोजना नगरेको र फुटबल गतिविधि सुस्ताएकाले प्रतियोगितालाई बागलुङ गोल्ड कपको नामबाट निरन्तरता दिन थालेको सञ्जालका अध्यक्ष राजकुमार बोसेलले बताए ।
गोल्ड कप फुटबल प्रतियोगितामा उपाधि बिजेता र उपबिजेता समूहले क्रमशः नगद १ लाख र ५० हजार प्रदान गरिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरस्कार १० हजार, हाइ स्कोर १० हजार, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, फरवार्ड, गोल रक्षक, अनुशासित टिम, प्रशिक्षकलाई ५/५ हजार नगद पुरस्कारको व्यस्था गरिएको छ । गोल्ड कप सम्पन्न गर्न कुल ११ लाख ९१ हजार ५ सय रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।









