बागलुङ, १६ मंसिर
सहकारी संचालक र व्यवस्थापकलाई आजदेखि बागलुङको भीमापोखरामा पुर्नताजगी तालिम सुरु भएको छ ।
‘इमान्दारिता र पारदर्शीता, सहकारीको अपरिहार्यता’ भन्ने नाराका साथ डिभिजन सहकारी कार्यालय बागलुङको आयोजना र गुँहेली संचार सहकारीको व्यवस्थापनमा तालिम सुरु भएको हो ।
तालिम उदघाटन समारोहमा बोल्दै नेपाल सूचना तथा संचार सहकारी संघ केन्द्रीय लेखा समिति सदस्य खिमबहादुर कार्कीले सहकारीलाई उत्पादन मुलक र गरिवि निवारण मुखी बनाउनु वर्तमानको मुख्य चुनौती रहेको बताए ।
तालिममा सहकारीका संचालक तथा व्यवस्थापकहरुको काम, कर्तव्य, ऋण लगानी, बचत संकलन तथा ऋण असुली, सदस्यता विस्तार, लेखा व्यस्थापन लगायतको विषयमा सहजिकरण गर्ने बताइएको छ ।
कार्यक्रममा भीमापोखरा महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमादेवी केसी, सक्षम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सूर्यबहादुर थापा, भीमापोखरा बहुउद्देश्यीय सहकारीका कोषाध्यक्ष होमबहादुर रोका लगायतले बोलेका थिए ।
डिभिजन सहकारी कार्यालय बागलुङका सहकारी निरिक्षक सोमकान्त शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहायक निरीक्षक ढोलाराम शर्माले गरेका थिए । तालिममा भीमापोखरामा संचालित १० सहकारी संस्थाका २५ जनाको सहभागीता रहेको छ ।









