यी बालिका जसले हराएको सुनको सिक्री भेटाएर दिइन्

म्याग्दी, ९ मंसिर
प्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्राले आफुले भेटाएको सुनको सिक्री सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेकी छिन् ।विद्यालयको कक्षा ५ मा पढ्दै गरेकी छात्रा सानिया बानुले भेटाएको सुनको सिक्री फिर्ता गरेर उदाहरुणीय काम गरेकी हुन् । यही मंसिर ४ गते विद्यालयको ६४औं वार्षिकोत्सवको कार्यक्रममा सहभागी भई घर फर्किने क्रममा सनियाले सुनको सिक्री भेटाएकी थिइन् ।
पुलाचौर घर भई हाल विद्यालय परिसरमा स्टेशनरी पसल गर्दै आएकी शान्ति आचार्यको साढे दुई तोला बढीको सिक्री मंसिर ४ गते हराएको थियो । ‘हामीले त आश मारिसकेका थियौं,’ सिक्री फेला परेपछि खुशी देखिएकी आचार्यले भनिन्, ‘छोरीलाई असल संस्कार सिकाउने बाबुआमा र प्रकाश मावि परिवारलाई पनि धन्यवाद दिन चाहन्छु । ’आचार्यका अनुसार सिक्री हराएको भोलिपल्ट सानियाले आफ्नो बाबुको साथमा विद्यालयमा आएर सिक्री फिर्ता गरेकी थिइन् ।15085559_1625812477718790_2263620352601932339_n
यसैबीच सिक्री फेला पारेर फिर्ता गर्ने सानियालाई शान्ति आचार्यको परिवारले स्टेशनरी सामान, नगदसहित सम्मान गरेको छ । विद्यालयको नियमित प्रार्थनाको बेला पारेर सानियालाई सम्मान गरिएको शान्तिका श्रीमान् शिवप्रसाद शर्माले जानकारी दिए। ‘प्रेरणादायी बालिकाबाट समाजले धेरै सिक्नुपर्छ । भविस्यमा पनि सहयोग गर्नुछौ’ शर्माले भने । विद्यालयमा समेत सोनियाले सिक्री फेला पारेर दिएपछि शिक्षकले समेत धन्यवाद दिएका थिए ।
विद्यालयका प्राचार्य हरिकृष्ण सुबेदीले सानिया र उनको परिवारको इमान्दारिताको जति तारिफ गरे पनि कम हुने भन्दै विद्यार्थीका रुपमा सानियाको उच्च मूल्यांकन गरिने प्रतिबद्धता जनाएका छन् । पछिल्लो समय म्याग्दीमा समाजलाई सन्देश प्रवाह गर्ने गरी बालबालिका तथा यूवाहरूले उदाहरणीय काम गरिरहेका छन् । एक महिना अगाडी कालिगण्डकी नदीमा बगाइरहेको बालिकालाई ज्यान जोखिममा पारेर एक यूवाले बचाउन सफल भएका थिए ।