म्याग्दी, ९ मंसिर
बेनी–जोमसोम सडकखण्डमा मङ्गलबार रातीदेखि चालकसहित जीप बेपत्ता भएको छ । म्याग्दी सदरमुकाम बेनीदेखि उत्तरी घारतर्फ गैरहेको ग २ प ३६६० नम्बरको बोलेरो जीप सवारीचालक रमेश खड्कासहित बेपत्ता भएको घटनास्थलबाट प्रहरी निरिक्षक लोकेन्द्र सिंह गुरूले बेनीअनलाइनलाई जानकारी दिए । ‘जीपका कतिजना सवार दिए भन्ने बारेमा पत्ता लागेको छैन । हामीले खोजीकार्य जारी राखेका छौं’ उनले भने ।
चालकसहित जीप हराएको खबर आफन्तले प्रहरीमा गरेपछि प्रहरी र स्थानीयले बेनी–जोमसोम सडकको बेनी–पाखरेबगर खण्डमा खोजतलास गरिरहेका छन्। खोजी गर्दा भगवती–२ बैंसरीस्थित सडक र कालीगण्डकी नदीको बिचमा त्रिपाल भेटिए पनि सवारी तथा चालक नभेटिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताए। बेनीको कालीपुल बसपार्कदेखि पोखरेबगरसम्म कालीगण्डकी नदी वारपार व्यापक रुपमा प्रहरी परिचालन गरी खोजीकार्य भैरहेको छ ।
हालसम्म दुर्घटनाबारे कुनै तथ्य फेला नपरेको हुँदा जीप र चालकको अवस्था थाहा हुन नसकेको प्रनाउ खड्काले बताए । मङ्गलबार साँझ बेनीदेखि सामान लिएर गएको उक्त बोलेरो जीप म्याग्दीको बैंसरीसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ । मङ्गलबारदेखि हराएका सवारी धनीसहित जीपको बारेमा बुधबार बेलुका मात्रै परिवारले प्रहरीमा जानकारी गराएका थिए ।