
म्याग्दी, ९ मंसिर
म्याग्दीको सदरमुकाम बेनीमा बिहिबार सम्पन्न भएको १५औं जेसीज कप फुटबल प्रतियोगिताको उपाधी माउण्ट एभरेष्ट आवासीय माविले हात पारेको छ । सदरमुकाम बेनीकै न्यू वेष्ट प्वाइन्ट आवासीय मावि र माउण्ट एभरेष्ट विच भएको खेलको निर्धारित समयमा दुवै समुहले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् ।
निकै प्रतिस्धात्मक खेलको निर्धारित समय गोल रहित बराबर भएपछि भएको पेनाल्टी सुुटआउटमा माउण्टका खेलाडी चुकेपछि उत्साहित भएका न्यू वेष्ट प्वाइन्टका खेलाडीको प्रहार समेत माउण्टका खेलाडीले रोकेका थिए । पेनाल्टी सुटआउटको अन्तिम अवसर न्यू वेष्ट प्वाइन्ट आवासीय माविका खेलाडीले गुमाएपछि १५ औ जेसीज कपको उपाधी माउण्टले कब्जा गर्न सफल भएको हो । डिफेन्डिङ च्याम्पियन समेत रहेको माउण्टले यसपटक पनि न्यू वेष्ट प्वाइन्टलाई उपविजेतामै सिमित राखेको छ ।
पटकपटक फाइनलमा पुग्न सफल न्यू वेष्ट प्वाइन्टले यसपटक उपाधी चुम्ने गरी मैदानमा उत्रिएपनि खेल अवधिभर धेरै मौका चुकाएको थियो । न्यु वेष्ट प्वाइन्ट आवासीय माविले जेसीज कप एकपटक जित्न सफल भएको छ । त्यस्तै तीनपटक विजेता बनिसकेको माउण्ट एभरेष्ट आवासीय माविले विजय यात्रालाई निरन्तरता दिन सफल भएको छ । प्रतियोगितामा माउण्टका क्याप्टेज प्रविण हमालले निकै कलात्मक खेल प्रर्दशन गरेका थिए ।
घाईते जस्तै देखिएका हमालले धावक जस्तै दौडका साथै आफ्नो पक्षमा लगातार बल राख्न सफल भएका थिए । जेसीज कपमा अनुशासित टिममा ताकम धारापानीस्थित किसानी मावि, सर्वाधिक गोलकर्ता भिम मावी राजदाङका मेख बहादुर पुर्जा, उत्कृष्ट गोलरक्षकमा माउण्ट एभरेष्टका गणेश पुर्जा, उत्कृष्ट खेलाडी न्यू वेष्ट प्वाइन्ट आवासीय माविका मनिष श्रेष्ठ र म्यान अफ दी म्याचमा माउण्ट एभरेष्टका प्रविण हमाल भएका छन् ।
प्रतियोगितामा सन्तोष स्मृति कोष, सुदिप रावल स्मृति कोष तथा विभिन्न प्रयोजकहरुका साथै अतिथिहरुको समेत सहभागिता रहेको थियो । अन्तरमावि जिल्लास्तरीय प्रतियोगितामा विद्यालय तहमा अध्ययरत खेल प्रतिभाहरुको पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगिता आर्थिक सहयोग गर्नेलाई सम्मान समेत गरिएको थियो ।
त्यस्तै विगतका जेसीज कपमा उत्कृष्ट खेलाडी घोषित प्रकाश माविका हिमाल कुँवर र सर्वोत्कृष्ट गोलकता मुकेश श्रेष्ठलाई सम्मान गरिएको थियो । दुवै खेलाडीको अनुपस्थितिमा अभिभावक र विद्यालयका शिक्षकले सम्मान ग्रहण गरेका थिए । प्रतियोगितामा विजेता र उपविजेतालाई क्रमशः नगद ३० हजार, १५ हजारको साथै कप, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा जिल्लाका २० विद्यालयले सहभागिता जनाएका थिए ।