
बागलुङ, ६ मंसिर
प्रविधिको तिव्र विकास र प्रयोगको कारण गाउँघर कुटनी र पिसनीमा प्रयोग हुने परम्परागत ढिकी जाँतो लोप हुने खतरामा परेको छ ।
परम्परागत प्रविधि र सिपमा आधारित भएर बनाइएका ती सामाग्रीहरु लोप हुँदै जान थालेका बागलुङ भीमापोखराका–९ का दिलबहादुर थापाले बताए । गाउँघरमा कुटानी पिसानी गर्न बनाइएका ढिकी, जाँतोलगायतका सामाग्रीको संरक्षणका अभावले जिर्ण अवस्थामा पुगेका हुन् ।
दशक अगाडी गाउँका सबैःजसोे घरघरमा रहेका ढिकी, जाँतो, पानीघट्ट र कोलजस्ता स्थानीय प्रविधिको पछिल्लो समय संरक्षणको अभाव र स्थानीयवासीको वेवास्ताका कारण लोप हुने खतरा बढेको हो । गाउँका हरेकको घरमा रहेका ढिकी तथा जाँतो अहिले छिटफूट मात्रामा देख्न पाइन्छ । विद्युतिय मिल तथा मिक्सको कारण जाँतो ढिकी तथा भान्सामा प्रयोग हुने सिलाउटो समेत लोभ हुँदै गएको थापाको भनाई रहेको छ ।
गाउँगाउँमा विद्युतीकरण भएपछि बिजुली मिल चल्न थालेको हुँदा गाउँका बुढापाकाले आफ्नो परिश्रम र मेहनत खर्चेर बनाएका परम्परागत प्रविधि हराउन थालेको बागलुङ विहुँ–६ का सुरेक विकको भनाई रहेको छ । ‘केही समय पहिले डिजेल र पानीबाट मिल चलाउने गरिन्थ्यो गाउँघरमा अहिले त्यो पनि हरायो’ विकले भने, ‘अहिले गाउँमा बिजुली मिल आयो, त्यसबाट मिल चल्ने भएकाले पहिलाका सामाग्री हराएर जान लागेका हुन् ।’
ढिकी धान तथा चामल कुटन, जाँतो र पानीघट्ट मकै, कोदो, गहुँ, चामललगायत खाद्यान्न बाली पिध्न प्रयोग हुँदै आएको थियो । यसैगरी कोल तोरी, उखु, कागती पेल्नमा प्रयोग गरिन्थ्यो भने डिजेल र पानीबाट तोरी पेल्ने मिल समेत चलाउने गरिएको थियो ।