
युवराज कँडेल
बागलुङ १ मंसिर
नेपालको एक मात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा यसबर्ष ९ ओटा मात्रै शिकार भएको छ ।
आरक्षका प्रमुख अणनाथ बरालका अनुसार यस बर्ष राष्ट्रिय वन्यजन्तु संरक्षण विभागले नाउर र झारल गरी १३ ओटा जनावरको शिकार अनुमति दिइएको थियो । तर २ टोलीको शिकार योजना उनीहरुको व्यक्तिगत कारण रद्व भएपछि ७ ओटा नाउर र २ ओटा झारलको शिकार भएको जनाइएको छ ।
शिकार क्रम घटेसँगै यस बर्ष राजश्वमा समेत भारी गिरावट आएको आरक्षले जनाएको छ । गत बर्ष यहि सिजनमा मात्रै करिब १ करोड राजश्व संकलन भएकोमा अहिले करीब ३० लाख मात्रै संकलन भएको बरालले जानकारी दिए । आरक्षमा कार्तिक पहिलो साताबाट मंसिर पहिलो सातासम्म बर्षको दोस्रो शिकार याम चलिरहेको छ ।
आरक्षमा यस बर्षको अन्तिम शिकारीका रुपमा ग्लोवल सफारी मार्फत पुगेका २ जना रसियन नागरिकले शिकार गरिरहेका छन् । उनीहरुले मंसिर ७ गते सम्ममा २ वटा नाउर र २ वटा झारलको सिकार गर्नेछन् । आरक्षमा यस बर्ष ग्लोवल सफारीसँगै हिमालयन सफारी, नेपाल वाईल्ड लाईफ र ट्रयाक्स एण्ड ट्रेल्स कम्पनीले ८ टोली शिकारी लगेका थिए ।
गत बर्ष यस सिजनमा १३ ओटै जनावरको सिकार भएको थियो । बरालका अनुसार अघिल्लो वर्षको टेन्डरमा एक जनावरको ९ लाख देखि ९ लाख ५० हजार सम्ममा टेन्डर भएकोमा यस वर्ष बढीमा एक लाख ५० हजारसम्मको टेन्डर भएको बताइएको छ । गत बर्ष सिकारको लागि टेन्डर गर्नेको संख्या चाप भएपनि यसबर्ष भने टेन्डर गर्ने सिकार एकदमै कम भएका कारण प्रतिस्पर्धा नहँदा राजश्वमा भारी गिरावट आएको बताइएको छ ।









