
नवीन शिशिर
बागलुङ, २९ कात्तिक
धौलागिरी अंचलकै पुरानो पुस्ताकालय विद्यामन्दिर पुस्तकालय बागलुङको संस्थागत विकास अभियानमा फेसबुकका माध्यमबाट साढे दुई लाख रुपैयाँ संकलन भएको छ ।
फेसबुक मार्फत संचालित ‘एक व्यक्ती एक हजार’ अभियानमा सोमबारसम्म एक सय ५५ जना व्यक्तिहरु सहभागी भएको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।
सो अभियानबाट संस्थागत विकास कोष दश लाख पु¥याउने लक्ष्य रहेको अध्यक्ष राजभण्डारीले बताउनुभयो । संस्थागत विकासको लागि प्रत्येक वर्ष चन्दा संकलनमा समस्या भएकाले अभियान संचालन गर्नुपरेको बताइएको छ ।
विसं २००३ मा स्थापित ऐतिहासिक पुस्तकालयका लागि देशविदेशबाट सहयोग प्राप्त भइरहेको छ। पुस्तकालयको विकासका लागि सुरु गरिएको ‘एक व्यक्ति एक हजार’ अभियान पनि फेसबुकबाटै प्रवर्द्धन भइरहेको छ। अभियानमा विद्यार्थी, शिक्षक, व्यपारी र समाजसेवीको सहयोग प्राप्त भएको छ ।
‘फेसबुकबाटै अभियान चलाएपछि विभिन्न संघ संस्थाबाट पनि सहयोग प्राप्त भइरहेको छ, विदेशमा रहेका नेपाली पनि अभियानमा जोडिएका छन’ राजभण्डारीले भन्नुभयो । पुस्तकालयमा हाल ई–लाईब्रेरी संचालन गरिएको छ ।









