
बागलुङ, २९ कात्तिक
सोमबार पृथ्वीको एकमात्र उपग्रह चन्द्रमा ७० बर्षकै सबैभन्दा नजिक आएको छ । यो दुर्लभ खगोलीय घटनालाई नेपालसहित विश्वभरबाट चासोका साथ हेरिएको छ ।
सोमबार साँझ ५ बजेर ७ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आएको थियो । चन्द्रमा सन् १९४८ पछि पृथ्वीको सबैभन्दा नजिक देखिएको हो ।
वरिष्ठ खगोलविद जयन्त आचार्यका अनुसार अब फेरि चन्द्रमालाई पृथ्वीको नजिकैबाट अवलोकन गर्न १८ वर्ष कुर्नुपर्ने छ ।
चन्द्रमाले पृथ्वीलाई घुम्ले कक्ष गोलो नभई अण्डाकार भएकाले चन्द्रमा पृथ्वीबाट कहिले नजिक त कहिले टाढा हुनेगर्छ । चन्द्रमा जब पृथ्वीको सबैभन्दा नजिक पुग्छ त्यसलाई महाचन्द्र अर्थात ‘सुपरमुन’ भनिन्छ ।
चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने विन्दूलाई ‘पेरिग्री’ भनिन्छ भने सबैभन्दा टाढा पुग्ने बिन्दूलाई ‘आपोजी’ भनिन्छ ।