
बागलुङ, २२ कात्तिक
दुई ठूला पर्व दशै तिहार सकिए लगत्तै ग्रामिण क्षेत्रमा धान कोदो भित्राउने चटारो सुरु भएको छ ।
खेतमा पहेलै बनेको धान र बारीमा रातै हुने गरी पाकेका कोदो काट्ने समयमा गाउँमा खेतालाहरुको अभाव हुन थालेको छ ।
गाउँमा पहिले जस्तो काम गर्ने खेताला पाइन छाडेको भीमापोखरा–९ का दिलबहादुर थापाले बताए । पहिले पहिले स्थानीय कृषकहरु आपसमा अर्म पर्म लगाएर आलो पालो धान कोदो काट्ने, झाँट्ने गरिन्थ्यो तर अहिले पैसाले पनि कामदार पाउन मुस्किल रहेको थापाको भनाइ रहेको छ ।
समयमा खेतबारीमा काम गर्ने मान्छे नपाउँदा धान कोदो खेतबारीमै धेरै दिन सम्म रहने अवस्था रहेको र असिना पानीले क्षति पु¥याउने चिन्ता थपिएको स्थानीयले बताएका छन् । ‘गाउँका धेरै युवाहरू बिदेशिएकाले यस्तो समस्या आएको हो, बिहुँका बलराम कंडेलले भने, युवाहरूलाई विदेश पलायन र महिलाहरुलाई शहर बजार झर्नबाट रोक्न सके मात्र अब गाउँघरमा कृषि पेसा सजह हुन्छ, नत्र भने गाउँको सबै जग्गा बाँझो हुने अवस्था अझै बढ्दै जाने निश्चित छ ।’
६/७ वर्षअघिसम्म खेत बारीमा काम गर्न खेताला खोज्नु पर्दैनथ्यो, पर्मा भनेपछि गाउँका सबैजना सघाउन आउँथे, सोही स्थानका यामबहादुर विकले भन्नुभयो् ‘गाउँमा सबै पर्म लगाएर काम गरिन्थ्यो, अहिले भने पैसा दिएर खेताला खोज्दा पनि मान्छे पाइँदैन ।’
विभिन्न कारण कृषि मजदुर पाउन छाडेपछि जिल्लामा कम मानिसहरू कृषिमा लाग्ने गरेका छन् । सजिलै आम्दानी हुने पेसातिर पनि जिल्लाका केही किसानहरू लागेका छन् । पछिल्लो समयमा जिल्लामा कृषि मजदुरहरू पाउनका लागि मुस्किल पर्न थाले पनि किसानहरूले खाद्यान्न उत्पादनको सट्टा विभिन्न फलफूल र कम मेहनतमा उत्पादन हुने तरकारी खेतीमा लागेका हुन् ।
गाउँका सबै युवा विदेशतिर लागेका कारणले कृषि मजदुर पाउन छाडिएकाले खाद्यान्नको सट्टा आफू फलफूल र तरकारीखेतीमा लागेको जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषि प्रसार प्रचार अधिकृत विप्लब अधिकारीले जानकारी दिए ।
अहिले जिल्लाका अधिकांश गाउँमा युवा जनशक्तिको अभाव रहेको छ । गाउँमा महिला तथा बुढाबुढीबाहेक अरू कोही नभएकाले पनि कृषि मजदुरहरूको अभाव बढ्दै गएको हो । अचेल गाउँमा युवा जनशक्ति विदेश पलायन भएका छन् । गाउँघरमा महिला र वृद्धहरू मात्र रहेकाले उत्पादन गर्नका लागि उचित खनजोत हुन सकेको छैन अधिकारीले भने–‘यसले उत्पादनमा असर पुगेको छ ।’









