रातको समयमा उपद्रो मच्चाउने समुहले म्याग्दीको डडुवाबासी त्रसित

म्याग्दी, १६ कात्तिक
बेनी नगरपालिका–१२ डडुवामा रातको समयमा मदिरा सेवन गरेर उपद्रो मच्चाउने गरिएको भन्दै डडुवाबासीले शान्ति सु्रक्षाको माग गरेका छन् । मदिरा सेवन गरे मध्यरातमा घर र खेतमा रहेका अन्नबाली, लत्ताकपडा फाल्ने गरिएको भन्दै स्थानीयले प्रहरीमा सुरक्षाको माग गदै निवेदन दिएका छन् ।
आइतबार राती कुल बहादुर खत्रीको खेतमा कुन्यु लगाएको अवस्थामा आइतबार राती थान सहितको कुन्यु भत्काएर लथालिङ्ग पारेको खत्रीले बताए ।
‘हामीलाई त्रसित पार्न केहीले योजनाबद्ध तरिकाले मध्यरातमा गाउँमा आतंक मच्चाइरहेका छन् । उनीहरूलाई कानुनी दायरामा ल्याउनुप¥यो’ खत्रीले प्रहरी नायव उपरिक्षक संग भने । खत्रीसंगै कात्तिक १२ गते शुक्रबार बुद्धि बहादुर बानियाँको घरमा केलाएर राखिएको कोदो, लत्ताकपडा बारीमा फाल्नुका साथै सोही राती मिन बहादुर खत्रीको घरको मौरीका चोरी गरी बनमा लगेर मह निकालेर घार फालेको अवस्थामा भेटिएको स्थानीयबासीले बताएका छन् ।
घटनामा संलग्न भएकालाई स्थानीय आमा समुह र यूवा क्लवले खोजीकार्यमा सघाएको थियो । स्थानीय कुल बहादुर खत्रीले दिएको निवेदनमा गाउँमा आतंक मच्चाउनेहरूलाई आवश्यक कारवाही गरी घटनामा संलग्न भएकालाई सार्वजनिक गर्न माग गरिएको छ । यता प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले गाउँमा आतंक मच्चाउनलाई कानुनी कारवाही गरिने बताए । यस्तै डडुवा टोल सुधार समिति, भेडाखोर सामुदायिक बन लगाएतका स्थानीय संघसंस्थाले समेत दोषीको पहिचानमा सहयोग गर्ने निवेदनमा उल्लेख छ ।
‘उजुरीका आधारमा कानुनी कारवाही अगाडी बढ्छ । गाउँको सु्रक्षाका लागि स्थानीयबासीले यस्ता गतिविधिमा संलग्न भएकालाई प्रहरीको जिम्मा लगाउनुपर्छ’ प्रनाउ खड्काले भने । स्मरणरहोस् डडुवाको आमा समुह र ज्योती यूवा क्लवले केहीबर्ष अगाडी गाउँलाई मदिरा निषेधित गाउँ घोषणा गरी उत्पादन र विक्री वितरणमा रोक लगाएको थियो ।

बेनीअनलाईनबाट साभार