किसानलाई पेन्शन, कृषिमा यान्त्रिकरण : मन्त्री चौधरी

बागलुङ, १५ कात्तिक
कृषि विकास मन्त्री गौरीशंकर चौधरीले सरकारले कृषिमा समर्पित किसानहरुलाई पेन्शन दिने तयारी अन्तिम चरण रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासघंले बागलुङमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले पेन्शन दिने तयारीलाई अघिल्लो सरकारले बजेट वत्तव्यमा पूर्व अध्ययन गर्नुपर्ने उल्लेख गरे पनि यसै बर्षदेखी पेन्शन बितरण शुरु गरिने बताउनुभयो ।
त्यसका लागि आवश्यक मापदण्ड तयार गरी अहिले बिज्ञहरुलाई अध्ययनका लागी दिइएको उहाँको भनाई छ । बिज्ञहरुले अध्ययन पछि दिने सुझावका आधारमा ७५ जिल्लामा सम्भव नभए पनि केही जिल्लाबाट किसान पेन्शन बितरण कार्य शुरु गर्ने मन्त्री चौधरीले बताउनुभयो । उक्त कार्यक्रमका लागि अर्थमन्त्रालय सँग बजेट समेत माग गरिसकिएको उहाँको भनाई छ । उहाँका अनुसार उत्पादन र लगानीका आधारमा किसानहरुलाई पेन्शन स्वरुप अनुदान थप गरिनेछ ।
नेकपा माओवादी केन्द्रका नेता समेत रहनुभएका चौधरीले नेपालको कृषि पद्धति परम्परागत भएकाले अब कृषिमा यान्त्रिकरण र बजारिकरण दुवैमा जोड दिनुपर्ने बताउनुभयो । निर्वाहमुखी खेती प्रणाली छोडेर कृषि उत्पादनलाई वृद्धी गर्न कृषकको प्रबिधि र प्राबिधिक सेवामा पहुँच बढाउने कार्यक्रमलाई प्राथमिकता दिइएको उहाँको भनाई छ ।
यस वर्षदेखि प्रधानमन्त्री कृषि परियोजना अन्तरगत स्थान बिशेष जोन, सुपर जोन र ब्लक आयोजना सञ्चालन गर्न लागिएको जानकारी दिदै मन्त्री चौधरीले प्रदेश नम्बर ४ को पोखरालाई तरकारी जोनको रुपमा विकास गर्न लागिएको बताउनुभयो ।
बाली बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन कृषकलाई सचेत र प्रचारप्रसारमा जोड दिइएको मन्त्री चौधरीले जानकारी दिनुभयो । अनुदान पाउनका लागि मात्र कृषि ब्यवसाय गर्ने र अनुदान सकिएपछि बन्द गर्ने प्रवृती समस्याको रुपमा देखिएको बताउदै उहाँले त्यसलाई नियन्त्रण गर्न अनुगमन भैरहेको र कृषक जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
स्थानीय तहको निर्वाचनको वातावरण बनाउन सरकारले प्रमुख र असन्तुष्ट दलहरुसंग सकरात्मक रुपमा छलफल गरिरहेको जानकारी दिनुभयो । स्थानीय तहको टुङ्गो लागेपछि सरकारले निर्वाचनको मिती घोषणा गर्ने बताउनुभयो ।
कार्यक्रम नेपाल पत्रकार महासघं बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीकोे अध्यक्षता र सचिव दिल शिरीषको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो