सन्तोष थापा
पर्वत, १४ कात्तिक
पर्वतको ठूलीपोखरी–१ खोरेकी उर्मिला पौडेललाई यतिबेला १३ वर्षदेखि बेपत्ता भएका दाइको सम्झनाले झन सताउन थालेको छ । तिहारमा गाउँ छरछिमेकका दाजुभाइहरु धमाधम गाउँ फर्किन थालेपछि उहाँलाई दाजुको सम्झनाले सताउन थालेको हो ।
६ फागुन २०६० मा आफ्ना दाइ अनिल पौडेललाई माओवादीको आरोपमा तत्कालिन शाही सेनाले बेपत्ता पारेपछि अहिलेसम्म कुनै अत्तोपत्तो छैन । राज्यपक्षबाट बेपत्ता पारिएकामध्ये जिल्लाकै एक मात्र बेपत्ता नागरिक अनिलको अहिलेसम्म ठोस खबर आउन सकेको छैन । सानै उमेरमा बुवाको मायाबाट वञ्चित हुनुभएका पौडेल उच्च शिक्षा हासिल गर्ने उद्देश्यले पोखरामा रहेको पृथ्वीनारायण क्याम्पसमा पढ्न गएका बेला बेपत्ता हुनुभएको हो ।
‘दाजुभाइको नाममा एउटा दाइ हुनुहुन्थ्यो, उहाँको पनि कुनै अत्तोपत्तो छैन’ बहिनी उर्मिला पौडेलले भन्नुभयो ‘दाइ आउने आशामा रोपेको मखमली फूल टिप्न नपाउँदै ओइलिएर झर्न थालेको १२ वर्ष पुग्यो’ ‘घरमा छिमेकी दाजुभाइ आएर बहिनी भनेर आँगनबाट बोलाउँदा आफ्नै दाजुले बोलाए जस्तो लाउँछ तर दाइको उपस्थिति नपाउँदा नरमाइलो लाग्छ’ उहाँ बेदना पोख्नुहुन्छ ।
छोराको चिन्ताले आमा ओछ्यानमा
अनिलकी आमा ७० वर्षकी गुमादेवी पौडेल बेपत्ता छोराको चिन्ताले ओछ्यानमा थलिनु भएको छ । छोराकै पिरलोले बिरामी पर्नुभएकी गुमादेवीले छोरो फर्किने आशा मार्नुभएको त छैन तर छोरो फर्केर आउँछ भन्ने आशा जगाइदिने पनि कोही छैनन् उहाँलाई । अनिललाई सेनाले क्याम्पस हाताबाटै पक्रेर लगेको थियो । तर छोरालाई कसले, कुन समयमा, कसरी लगे भन्ने कुरा आफ्नै आँखाले देख्न नसकेपछि उहाँलाई बेपत्ता बनाएको भन्ने कुरा समेत पत्यार लाग्दैन । ‘देशमा दुई दुई पटक संविधानसभाको चुनाव भयो, नेपाली नागरिकले संविधान पनि पाए तर मैले मेरो छोरो पाउन सकिन’ दमको रोगबाट ग्रस्त बनेर ओछ्यान पर्नु भएकी उहाँले भक्कानिँदै भन्नुभयो ‘मेरो छोरो अब फर्केर कहिले आउला खै !’
अघिल्लो वर्षसम्म छोराको खोजीमा विभिन्न सुरक्षा निकायदेखि मानवअधिकारकर्मी, प्रशासन र राजनीतिक दल समक्ष छोरा खोजि गरिदिन बिन्ती चढाउँदै हिँड्नुभएकी उहाँ अहिले रोगले ग्रसित बनेपछि ओछ्यानमा नै छोराको नाम पुकारेर बस्न बाध्य हुनुभएको छ ।
अनिल पाँच वर्षको हुँदा उहाँको बुवाको निधन भएको थियो । ‘बुवाको तर्फबाट पाउनुपर्ने माया ममता समेत म आफैले दिएर छोरालाई त्यो उमेरसम्म सुखसयलमा नै हुर्काएकी थिएँ’ उहाँ भन्नुहुन्छ ‘श्रीमानको निधनपछि मेलापात गरेर शिक्षादिशा गराउँदाका क्षणहरु सम्झेर मन भक्कानिन्छ ।’ छोरालाई पालनपोषण गरेर हुर्काउँदाको अवस्था उहाँका लागि अतित बनेर आउने गरेको छ ।
द्वन्द्वपीडितका नाममा राहत स्वरुप सानोतिनो रकम हात परेपनि उहाँलाई त्यसको कुनै औचित्य छैन । छोरा आउने बाटो कुरेर पिंढीको डिलमा झोक्राउनु उहाँको दैनिकी जस्तै बनेको छ । ‘धेरै वर्षको मेहनतपछि संविधान आयो’ उहाँले भन्नुभयो ‘यसै गरी मेरो छोरो पनि कुनै दिन टुप्लुक्क आउँछ कि ?’