कसरी छोप्ने मेकअपले दाग ?

शारदा थापा क्षेत्री, ब्युटिसियन
कतिपयको अनुहार, गर्धनलगायत स्थानमा गहिरो दाग हुन्छ । युवतीहरू सौन्दर्यमा घात पु-याउने यस्ता दागबाट हैरान हुन्छन् । जोकसैको नजरमा यस्तो दाग झट्ट पर्दा अरू सबै सौन्दर्य ओझेलमा पर्न जान्छ । स्थायी रूपमा हटाउन नसकिने यस्ता पुराना दाग, चोट लुकाउन के गर्ने ? ब्युटिसियन शारदा थापा क्षेत्री मेकअपबाट यस्ता दाग छोप्न सकिने बताउँछिन् । उनले मेकअप टिप्स दिएकी छिन् :
जहाँ पुरानो घाउको दाग या चोट छ त्यहाँ राम्रोसँग सफा हुने गरी अनुहार धुनुहोस् । दागमा रहेको तेल, फोहोर र धुलो हटाउनुहोस् । यसका लागि फेसवासको प्रयोग गर्न सक्नुहुन्छ ।
दाग भएको एरियामा राम्रोसँग लाग्ने गरी मोस्चराइजर गर्नुहोस्, जसले गर्दा यो स्थानमा मेकअप राम्रोसँग बस्न सकोस् ।
दाग भएको एरियामा थोरै प्राइमर लगाउनुहोस् । प्राइमरले मेकअपलाई दिनभर टिकाउन तथा छालालाई चम्किलो राख्न भूमिका खेल्छ ।
प्राइमरपछि पेनस्टिक लगाउनुहोस् । पेनस्टिकले दागलाई राम्रोसँग पुर्ने काम गर्छ । दाग पुरिसकेपछि फिनिसिङको काम आउँछ ।
पेनकेक लगाउनुहोस् । यसले दाग भएको स्थानमा प्लास्टरको काम गर्छ । दाग भएको स्थानको छालालाई अन्य छालासँग सेटिङ मिलाउँछ । खाल्डो परेको दागलाई कभरअप गर्छ ।
अब बिबी क्रिम लगाउनुहोस् । फाउन्डेसन पनि लगाउन सक्नुहुन्छ । तर, बिबी क्रिम नै अहिले चल्तीमा छ । यसले प्राकृतिक फिनिसिङ पनि दिने गर्छ । तर, वाटरप्रुफ बिबी क्रिम लगाउनुहोला ।
कन्सिलरको एक मोटो पत्र दाग भएको भागमा लगाउनुहोस् । कन्सिलरलाई राम्रोसँग ब्रसका माध्यमबाट ब्लेड गर्नुहोस् । यसले दाग छोप्छ । यति गर्दा पनि दाग देखिएमा यो स्टेपलाई अर्कोपटक दोहो-याउनुहोस् ।
मेकअपलाई सेट गर्न कम्प्याक्ट पाउडर लगाउनुहोस् । मेकअप धेरै भएको महसुस भए ब्रसले सफा गर्नुहोस् । अब दाग छोपिएर अनुहार आकर्षक देखिन्छ ।

नयाँ पत्रिकाबाट