बागलुङ, ३० असोज
जिल्लाको ग्वालिचौर गाविसको वडा नं. ८ दाँगमा बडा दशैं २०७३ को अवसरमा श्री थानापती समाज कल्याण संस्थाले असोज १४ देखि २१ गतेसम्म आयोजना गरिएको वृहत दशैं विशेष मेलाको शनिबार आयव्यय सार्वजनिक गरेको छ ।
संस्थाका आर्थिक संयोजक राम प्रसाद घिमिरेले सार्वजनिक गर्नुभएको आर्थिक विवरणमा कुल ३ लाख २६ हजार ४ सय ३० आम्दानी गरेको जानकारी गराएका थिए । उहाँले कार्यक्रममा १ लाख ९३ हजार १ सय ९० रुपैयाँ खर्च र कुल बचत १ लाख ३३ हजार २ सय ४० रुपैयाँ रहेको बताउँनुभयो । उक्त वचत रकम गाउँको विकास निर्माणको क्षेत्रमा खर्च गर्ने आयोजक संस्थाले जानकारी दिएको छ ।
मेलाको अवसरमा गाउँबाट वैदेशिक रोजगार तथा शैषिक अध्ययनको शिलशिलामा विभिन्न देशमा रहेका तथा स्वदेशमा रहेका ९७ जना सहयोगी दाताहरुले आर्थिक सहयोग गरेको आर्थिक संयोजक घिमिरेले बताउँनुभयो । सोही अवसरमा संयोजक घिमिरेले धन्यवाद ज्ञापन गर्दे आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनुभयो । साथै गतवर्षको लगानीको साँवा व्याज गरी कुल ३६ हजार २० रुपैयाँ आम्दानी भएको छ ।
मेलामा आयोजना गरिएको वडा स्तरिय पुरुष भलिवल प्रतियोगितामा ४१ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा आयोजक श्री थानापती समाज कल्याण संस्थालाई हराउँदै द न्यू डिभाइस, टुनिबोट प्रथम भएको थियोभने माझखर्क प्रावि असारे तृतीय भएको थियो ।
मेलामा ६ टिमको सहभागिता रहेको रेकर्ड डान्स प्रतियोगितामा एलिसा रोकाको समुह प्रथम र सोनु पुनको समुह द्धितिय भएका थिए ।
यस्तै उक्त अवसरमा आयोजना गरिएको अभिभावक म्युजिकल चियरमा १२ जनाको सहभागिता रहेको प्रतियोगितामा नारायण पौडेलले प्रथम स्थान हासिल गरेका थिए । यस्तै महिला तर्फ लक्ष्मी घिमिरे प्रथम भएकी थिइन । कार्यक्रममा राष्ट्रिय कलाकारहरु मनोज घिमिरे, छवि रास्कोटी, कल्पना परियारको सांगेतिक प्रस्तुति रहेको थियो ।
आफ्नो गाउँ आफै बनाउँ भन्ने मुल नाराका साथ वि.सं. २०५७ सालमा स्थापित भएको उक्त संस्थाले प्रत्येक वर्ष वडा दशैंको अवसरमा विविध कार्यक्रम, गाउँमा हुने विकास निर्माणका क्रियाकलापहरुमा सक्रि सहभागिता, सामाजिक मेलमिलाप, युवा जागरण, सामुदायिक एकता जस्ता कार्यहरु गर्दै आएको संस्थाका अध्यक्ष चक्र बहादुर बुढाले बताउँनुभयो ।
संस्थाले आगामी दिनमा गाउँको समग्र विकासको क्षेत्रमा आगामी दिनहरुमा नेतृत्वका साथ काम गर्ने, श्री थानपति बाबाको मन्दिर पुर्ननिर्माण गर्ने, मोटरबाटोको स्तरउन्ती, विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने, युवा जनशक्तिलाई एकृकित गरि गाउँ विकासका महत्वपूर्ण क्षेत्रहरुमा नेतृत्वका साथ काम गर्ने संस्थाका आर्थिक संयोजक राम प्रसाद घिमिरेले जानकारी दिनुभयो ।