
मुस्ताङ, २८ असोज
मुस्ताङबाट यस वर्षको दसैँमा २७ करोड रुपैयाँको भेडा, च्याङ्ग्रा निर्यात भएको छ ।
जिल्ला विकास समिति मुस्ताङले दसैँ अवधिभर म्याग्दी र मुस्ताङको सिमाना घासाबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार असोज ७ देखि २३ गतेसम्म २१ हजार ४५ वटा भेडा, च्याङ्ग्रा बाहिरिएका थिए । ती भेडा च्याङ्ग्रा बेनी हुँदै काठमाडौँ, पोखरा, चितवन, बागलुङ, कुश्मासम्म पुगेका थिए ।
जोमसोम र कागबेनी क्षेत्रमा किसानबाट खरिद गरी ल्याएका स्थानीय व्यापारीबाट देशका विभिन्न भागबाट पुगेका व्यापारीले प्रतिवटाको हिसाबले किनेर बजारसम्म ल्याएका थिए ।
जिल्ला पशु सेवा कार्यालय मुस्ताङका अनुसार यसवर्ष १३ हजार भेडा र ८ हजार ४५ च्याङ्ग्रा जिल्लाबाट बाहिरिएका थिए । किसानले प्रति भेडा, च्याङ्ग्रालाई १३ हजार रुपैयाँमा बिक्री गरे । यसवर्ष २७ करोड ३५ लाख रुपैयाँ भित्रिएको कार्यालय प्रमुख डा नन्दलाल वर्माले जानकारी दिनुभयो ।
गएको वर्ष नाकाबन्दी र भूकम्पको सन्त्रासका कारण तिब्बतबाट ल्याइएका भेडा, च्याङ्ग्रा कम मात्रामा बजारमा आएका थिए भने यसवर्ष तिब्बतबाट भेडा, च्याङ्ग्रा नआएको डा बर्माले जानकारी दिनुभयो ।
डोल्पाबाट मुस्ताङ हुँदै भेडा, च्याङ्ग्रा बजार आएको बताइए पनि पशुसेवा कार्यालयले त्यसबारे कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, सुर्खाङ, घमी, चर्राङ, छोन्हुप गाविसका किसानले पालेका भेडा, च्याङ्ग्रा बजार ल्याइएको व्यापारीले जानकारी दिएका छन् । त्यहाँका किसानले दसैँलाई नै लक्षित गरी व्यावसायिक रुपमा भेडा, च्याङ्ग्रा पालन गर्दै आएका छन् । रासस