
आज बडा दशैं । मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदैछ ।
घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाईंदैछ । आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाइन्छ ।
बडादसैँको टीकाको उत्तम साइत बिहान ८ बजेर ४५ मिनेटको समयलाई मानिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले टीकाका लागि सो समयमा उत्तम भए पनि आफ्नो अनुकूल समयमा मान्यवरबाट टीका, जमरा, प्रसाद तथा आशीर्वाद लिन कुनै बाधा नहुने बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोही साइतमा शीतल निवासमा टीका र जमरा ग्रहण गर्ने कार्यक्रम छ । दसैँको टीकाका लागि आफ्नो पारिवारिक मिलनसहित सर्वसाधारणले पनि तयारी गरिरहेका छन् ।
यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक मान्यता रहि आएको छ ।










