दशैंमा बाटो मर्मत नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य

पर्वत, २४ असोज
दसैँको समयमा पर्वतका ग्रामीण सडक मर्मत नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ । धौलागिरी अञ्चल यातयात व्यवस्था कार्यालयले पर्वतका ८ वटा ग्रामीण सडक सञ्चालन गर्न योग्य भएको भन्दै इजाजत दिएपनि वर्षायाममा बिग्रिएको सडक मर्मत गर्न नसक्दा सडक सञ्जाल बन्द जस्तै बनेका छन् ।
गएका वर्षमा जिल्ला विकास समितिले दसैँमा सहज यात्राका लागि बजेट विनियोजन गरेर मर्मत गर्ने गरेपनि यसवर्ष बेवास्ता गरेपछि गाउँलेलाई असहज भएको हो । पर्वत यातयात व्यवसायी समितिका महासचिव सुवर्ण अर्यालले सम्बन्धित निकायले बेवास्ता गर्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताउनुभयो ।
पर्वतमा इजाजत पाएका ८ सडकसहित ३२ सडक सञ्जालमा जीप तथा बस चल्ने गरेपनि अहिले सडक मर्मत नभएपछि दोबिल्ला–फलेबास, कुश्मा–बनौ, कुश्मा–दुर्लुङमा मात्रै सडक सञ्चालनमा आएका छन् ।