बागलुङका वित्तिय संस्थाहरुमा सेवाग्राहीको चाप वृद्धि, नेपाल बैकबाट मात्र दैनिक दश करोड बहिरियो

बागलुङ, २० असोज
दशै सुरुवात भए लगातै बागलुङका वित्तिय संस्थाहरुमा सेवाग्राहीको चाप वृद्धि छ ।
नयाँ नोट सटही सुरु तथा शिक्षकको चौमासिक तलब निकासा र सामाजिक सुरक्षा भत्ता निकासाका कारण सेवाग्राहीको चाप बढेको नेपाल बैक बागलुङका शाखा प्रबन्धक दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।
विशेष गरी बैकमा दशैको लागि नयाँ नोट साटन आउने सेवा ग्राहीको संख्या बढी रहेको छ । नेपाल बैकले सर्वसाधारणको लागि साढे दुई करोड नयाँ नोट वितरण गर्ने जानकारी दिएको । प्रति व्यक्ति पाँच हजार रुपैयाँ बराबरको नयाँ नोट सटहि गरिएको छ ।
बैकले सर्वसाधारणको लागि मंगलबार र बुधबार नोट साटने सेवा प्रदान गरे पनि उपभोक्ताहरुले भने आवश्यक मात्रामा नयाँ नोट पाउन नसकेको गुनासो गरेका छन । बैकले यस वर्ष एक सय रुपैयाँको मात्रा नयाँ नोट सटही गर्दा पाँच, दश, पचास, पाँच सय र हजारको खुद्रा नयाँ नोट सर्वसाधारणले पाउन सकेका छैनन । राष्ट्र बैकले सयको बाहेक अन्य कुनै पनि नोट नपठाएको कारण सेवाग्राहीको माग अनुसार सेवा प्रदन गर्न नसकेको शाखा प्रबन्धक आर्यालको भनाई रहेको छ ।
नेपाल बैकबाट मात्रै अहिले दैनिक १० देखि ११ करोड रुपैया बहिरिने गरेको छ । सेवाग्राहीलाई तत्काल सेवा दिने र कसैलाई पनि रित्तो हात नफर्काउने उद्देश्यले आफूहरुले काम गरिरहेको प्रबन्धक आर्यालको भनाइ छ । उहाँले भन्नुभयो – ‘सेवाग्राहीको चाप बढेका कारण हामी कर्मचारीलाई भ्याइनभ्याइ छ ।’