–केटा र केटा पक्षलाई करणी मुद्धा
–केटी पक्षलाई अपहरण मुद्धा
बागलुङ, १९ असोज
तीन साता अघि भएको अन्तरजातीय विवाहका जोडीविरुद्ध अभिभावकहरु लागेपछि तनाव शुरु भएको छ ।
कुश्मीसेरास्थित शान्ति उमाविमा कक्षा ११ मा अध्यनरत बबिन परियार र हेमन्ती थापाले गत भदौ २८ गते प्रेम विवाह गरेका थिए । उनीहरुको विवाह विरुद्ध केटी तर्फका अभिभावक लागे पछि तनाव सिर्जना भएको हो ।
केटीका अभिभावकले केटाविरुद्ध अदालतमा बलात्कार मुद्धा दायर गरेका छन् । उक्त घटनापछि केटा सम्पर्कविहिन भएकोले केटा पक्षले अपहरण परेको दावी गरेका छ । बेपत्ताको खोजी गरिदिन सहयोग गर्न पिडित केटा पक्षले मानव अधिकारकर्मी, संचारकर्मी र प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।
२०५७ साल जन्ममिति भएका दुवैजना १६ बर्षको भएकोले भागी विवाह गर्ने उमेर नभएको भन्दै अघिल्लो साता प्रहरीमा सर्वदलीय राजनीतिक संयन्त्र र दुवै पक्षका अभिभावक बसेर छलफल गरी केही समय आफ्नो–आफ्नो घरमा राख्ने निर्णय गरेका थिए ।
उक्त निर्णयपछि प्रहरी परिसरबाटै भागेका उनीहरुलाई केटी पक्षले आरोपप्रत्यारोप र बलात्कार गरेको आरोप लगाएपछि तनाव सिर्जना भएको संयुक्त राजनीतिक संघर्ष समिति बागलुङका संयोजक धनबहादुर परियारले बताउनुभयो ।
केटा दलित परिवारको र केटी जनजाति परिवारको भएकोले यो घटनामा जातीय विभेद भएको उनीहरुले ठहर गरेका छन् । २१ औं शताब्दीमा आएर पनि छुवाछुतको विभेद कायमै रहनु लज्जास्पद र दुर्भाग्यपूर्ण भएको भन्दै उनीहरुले संयुक्त प्रेस विज्ञप्ती प्रकाशित गरी बुधवार पत्रकार सम्मेलन समेत गरेका थिए ।
कानूनी रुपमा दण्डनीय मानिएको जातीय विभेद अनुसार दोषीलाइ कारवाही गर्न पनि विज्ञप्तीमा माग गरिएको छ । उमेर नपुगेकोले अभिभावकको संरक्षकत्वमा बस्ने निर्णय विरुद्ध केटीपक्षले केटालाइ बेपत्ता बनाएकोले मानवअधिकारको उल्लंघन भएको समेत उनीहरुले ठहर गरेका छन् ।
मुद्दालाई वास्तविकता भन्दा फरक पारेर झुट्टा बनाई आएका खवरप्रति खेद व्यक्त गर्दै सत्यतथ्य ल्याइदिन पनि माग गरिएको छ । झुटा मुद्धा खारेज र सम्पर्कविहिन भएका केटाको खोजी गरिदिन आग्रह गर्दै केही भएमा त्यसको जिम्मा केटीपक्षले लिनुपर्ने समेत चेतावनी दिएका छन् ।
उक्त अवसरमा तराइमा १६ बर्षकै उमेरमा भएका धेरै विवाहका घटनामा प्रशासनले वास्ता नगरेको र यहाँ दलित परिवार जोडिएकोले साथ र सहयोग पाउन नसकेको संजालका अध्यक्ष टकबहादुर बोहराले बताउनुभयो । केटी पक्षले बलात्कार गरेको लगायतका मुद्दामा २५ जनालाइ दोषि देखाएको उनीहरुले गुनासो गरे । संजालका अध्यक्ष बोहोराको अध्यक्षता र धनबहादुर परियारको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।