प्रताप बानियाँ
म्याग्दी, ११ असोज
म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानीमा रहेको तातोपानी कुण्डमा बिरामीको चहलपहल बढ्न थालेको छ । प्राकृतिक चिकित्सालयको रुपमा पहिचान बनाउँदै गएको कुण्डमा जाडो समयको शुरुवात सँगसँगै विभिन्न जिल्ला र ठाउँका बिरामीहरुको चहलपहल बढ्दै गएको हो ।
जमिन मूनिबाट ४८ डिग्री सेल्सियसको तापक्रममा बिरेनुन (सल्फर)को स्वादसँगै निस्कने तातोपानी कुण्डमा डुबेर रोग निको हुने भएपछि वर्षेनी बिरामीको सङ्ख्या बढ्दै गएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा नेपालको दाङ, सल्यान, रुकुम, कास्की, काठमाडौंलगायत भारतबाट समेत विभिन्न रोगबाट ग्रसित बिरामीहरु आउने गरेका छन् ।
आन्तरिक र बाह्य पर्यटकका साथै पछिल्लो समय विदेशका विभिन्न देशबाट पनि विदेशीहरु कुण्डमा स्नान गर्न आएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरन्द्रमान शाक्यले बताए। देशभित्र र देशबाहिर ठूला अस्पतालमा उपचार गराउँदा पनि रोग निको नभएका बिरामीहरु तातोपानी कुण्डमा आएर डुबेपछि रोग निको भएको र पटपटक आउने गरेको उनले जानकारी दिएका छन् ।
तातोपानी कुण्डमा डुबुल्की मारेपछि बाथ, युरिक एसिड, ग्यास्ट्रिक, हाडजोर्नी दुख्ने, नशासम्बन्धी रोग, सड्र्केको तथा मर्केको र चिसोका कारणले हुने सबै प्रकारका रोगहरु निको हुने गरेको अध्यक्ष शाक्यको भनाई छ । कुण्डमा डुबेर रोग निको हुँदै गएपछि वर्षेनी स्वदेशी तथा विदेशी बिरामीको सङ्ख्या बढ्दै गएको छ भने एउटै व्यक्ति धेरैपटक आएर डुबेको कुण्डले जानकारी दिएको छ ।