११औँ अन्तराष्ट्रिय बहिरा दिवस बागलुङमा पनि मनाइयो

बागलुङ, ९ असोज
११ औं अन्तराष्ट्रिय बहिरा दिवस, बागलुङमा पनि विविध कार्यक्रम सहित मनाइएको छ ।
‘सांकेतिक भाषाका साथ म बराबर छु’ भन्ने नाराका साथ बागलुङ बहिरा संघको आयोजनामा आज सचेतनामूलक ¥याली गरिएको छ । ¥याली पछि आयोजित सभामा बोल्ने वक्ताहरुले अपाङ्गता भएकाहरुलाई राज्य र समाजले गर्ने व्यवहार र हेर्ने दृष्टीकोणमा परिवर्तन आउन नसकेको गुनासो गरेका थिए ।
कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरुको सहभागीता न्युन भएकोमा पनि उनीहरुले चिन्ता व्यक्त गरेका थिए । फरक क्षमता भएकाहरुलाई कार्यक्रममा आएर हौसला प्रोत्साहन गर्नुको बदला कार्यक्रममा समेत नआएर उपेक्षा गरिएको वक्ताहरुको भनाई थियो ।
कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालय बागलुङका निमिक्त प्रमुख सरस्वती रेग्मीले अपाङ्गता भएका बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्न राज्यले शिक्षामा विशेष कार्यक्रम र योजना ल्याउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा धौलागिरी बहिरा आवासीय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर, प्रधानध्यापक मदुसुदन निउरे, बागलुङ बहिरा संघका पूर्वअध्यक्ष बसन्तजङ्ग राजभण्डारी लगायतले बोल्नुभएको थिए ।
कार्यक्रम बागलुङ बहिरा संघका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता, उपाध्यक्ष अमृत शर्माको स्वागत र सचिव लवकुश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा मिरा विष्ट र सागर सुवेदीले दोभाषे मार्फत सहजीकरण गर्नुभएको थियो ।
सो अवसरमा बहिरा बालबालिकाले साँस्कृतिक प्रस्तुती तथा कराते डेमो र काँटा प्रर्दशन गरेका थिए ।