बागलुङ–भारत नयाँ दिल्ली बस सेवा सञ्चालन

बागलुङ, ७ असोज
बागलुङ बजारदेखि छिमेकी मुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बस सेवा सुरु भएको छ ।
ना ५ ख ४२४९ नम्बरको ‘डिलक्स’ बस पहिलो पटक यात्रु लिएर बागलुङबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेको छ । धवलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले पोखरामा रहेको ‘मोर्डन ईरा टुर्स एण्ड ट्राभल्स’ प्रालि सँगको सहकार्यमा सञ्चालन गरेको बस ३० घण्टामा दिल्ली पुग्नेछ ।
यातायात सेवाको धौलागिरी अञ्चल यातायात बवस व्यवसायी समितिको १८ औ बार्षिक साधारणसभाका अवसरमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालले आज उद्घाटन गर्नुभयो । उद्घाटन पछि बोल्दै खनालले बागलुङ–नयाँ दिल्ली बस सेवाले सार्वजनिक यातायात सेवामा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले सर्वसाधारण प्रति समर्पित रहेर स्तरीय र मर्यादित सेवा प्रदान गर्न समितिलाई आग्रह गर्नुभयो ।
बागलुङ–नयाँ दिल्ली बस सेवा साताको आइतबार, बुधबार र शुक्रबार सुचारु रहने समितिले जनाएको छ । नयाँ दिल्लीबाट पनि सोही बार र समयमा बस बागलुङको लागि छुट्नेछ । यात्रुहरुको चाहाना र सुविधालाई दृष्टिगत गरि ‘डिलक्स’ बसबाट सेवा दिइएको समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
बागलुङबाट छुटेको बस पोखरा, नारायणगढ, सुनौली नाका हुँदै नयाँ दिल्लीको मौरी गेट बरफ खानामा गएर रोकिनेछ । १३ सय २० किमिको उक्त यात्रामा प्रति यात्रु रु. ३२ सय नेपाली रुपैयाँ भाडादर कायम गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । नयाँ दिल्लीमा पनि काउण्टर स्थापना गरि बस सेवाको प्रचार प्रसार र व्यवस्थापनको काम भइरहेको उहाँको भनाई छ ।
धवलागिरि क्षेत्रबाट रोजगारको लागि भारतको नयाँ दिल्ली र अन्य सहरमा पुगेका व्यक्ति, भारतीय पर्यटक, तीर्थयात्री, विद्यार्थी, पेशाकर्मी र उपचारमा जाने बस सेवाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । ‘यहाँबाट नयाँ दिल्ली पुग्न धेरै झण्झट ब्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ, ठाउँ–ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता पनि टर्नेछ’ समितिका अध्यक्ष खड्काले भन्नुभयो ।

1 टिप्पणी

  1. Thank you Baglung to new Delhi bus sarvis well come to Baglung to new delhi menni menni thank you

Comments are closed.