धौलागिरीमा दुई दिनदेखि बिद्युत ठप्प, विहिबार साँझ आउने सम्भावना

बागलुङ, ३० भदौ
धौलागिरी अञ्चलका अधिकाशं क्षेत्रमा बुधवार बिहानदेखी विद्युत आपूर्ति बन्द भएको छ ।
कालीगण्डकी करीडोर सडक माथिबाट बागलुङको पैयुपाटा–६ कालाखोलामा बुधबार विहान–५ बजे झरेको पहिरोले विद्युत अवरुद्ध भएको हो । बिद्युत अवरुद्ध भएपछि उद्योग, कलकारखाना लगायत दैनिक कामकाज प्रभावित भएका छन् । इन्टरनेट सेवा समेत प्रभावित भए पछि सेवाग्राहीले दिनभर हैरानी खेपेका छन् ।
केन्द्रिय लाइन मार्फत वितरण गरिने मुख्य लाईन रहेको ८ वटा पोल भाचिए पछि बागलुङ, म्याग्दी र पर्वतका केही गाविसमा विद्युत आपूर्ति बन्द भएको नेपाल बिद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रले जनाएको छ । अवरुद्ध बिद्युत सूचारुका लागि समय लाग्ने भए पछि सयपत्री हाइड्रो पावरको बिद्युत प्रयोग गर्न खोजिए पनि लोड धेरै भएकाले प्रयास बिफल भएको थियो ।
पर्वतको पाङ, बागलुङको गल्कोट क्षेत्रबाट वितरण लाईन बाहेक अन्य सम्पूर्ण क्षेत्रमा विद्युत अवरुद्ध भएको बागलुङ वितरण केन्द्रका सूचना अधिकारी सर्वजित केसीले जानकारी दिनुभयो । विद्युत आपूर्ति संचालनका लागि बुधवार सहस्रधारामा ६ वटा पोल गाडीएको छ भने आज कालाखोलामा २ वटा पोल गाडने काम हुने उहाँले बताउनुभयो ।
पोल गाडने र तारा तान्ने काम बाँकी रहेकाले सम्पूर्ण काम सम्पन्न गर्न शुक्रबारसम्मको समय लाग्ने बताइएको छ । मर्मत कार्य अपेक्षाकृत रुपमा सम्पन्न भएको खण्डमा भोली विहिबार साँझ र नभए शुक्रबार सम्ममा विद्युत आपूर्ति हुने सुचना अधिकारी केसीको भनाई छ ।