फ्युचरले जित्यो अमर आदर्श स्पोर्टस ट्रफिको उपाधि

सिर्जना कार्की
बागलुङ, २८ भदौ
अमर आदर्श आवासिय उच्च माध्यमिक विद्यालयले आयोजना गरेको अन्तर उच्च मावि स्तरिय फुटबलको उपाधि फ्युचर ब्राईटर उच्च माविले जितेको छ ।
उत्कृष्ट जिवनको लागि खेलकुद भन्ने नाराका साथ आयोजना गरेको अमर आदर्श ट्रफि–२०७३ को फाइनल खेलमा अमर आदर्श उच्च माविलाई ० विरुद्ध २ गोल अन्तरले पराजित गर्दै फ्युचरले उपाधि चुमेको हो ।
खेलको निर्धारित समयमा दुवै टोली गोल रहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि धेरैले खेल ट्राइब्रेकरमा जाने अनुमान लगाएका थिए ।
अतिरिक्त समयको दोस्रो हाफको अन्त्यतिर लगातार दुई गोल गर्दै फ्युचरले धेरैको अनुमानलाई गलत सावि गरिदिएको थियो ।
अतिरिक्त समयको अन्त्य तिर निकै आक्रमक खेल प्रस्तुत गरेको फ्युचरको लागि पहिलो गोल इन्सान थापाले गरेका थिए ।
१ गोल खाएपछि केहि हतास बनेका अमरका खेलाडीहरुको फाइदा उठाउँदै फ्युचरले खेलको अन्तिम समयमा गोल गर्दै २ गोलको अग्रता लिएको थियो । फ्युचरका सन्दिप विकले सवै खेलाडी विट भइसकेको अवस्थामा गोलरक्षकलाई छक्याउँदै गोल गरेका थिए ।
खेलको पहिलो हाफमा अमर आदर्श निकै हावि भएपनि दोस्रो हाफमा फ्युचर खेलमा फर्किदा खेल निकै रोमाञ्चक बनेको थियो ।
खेल अवधिभर दुवै टोलिबाट निकै राम्रो गोलका प्रयास भएपनि गोल हुन सकेको थिएन ।
उपाधि जितेको फ्युचरले १२ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेतामा चित्ता बुझाएको अमर आदर्शले ६ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै उत्कृष्ट खेलाडीको उपाधि अमर आदर्शका कप्तान निसान थापाले प्राप्त गरेका छन् । उच्च गोलकर्ता फ्युचरका कप्तान आशिष केसी, उत्कृष्ट किपर भीमसेन उमाविका पर्वत भण्डारी, उत्कृष्ट मिडफिल्डर अमर आदर्शका श्याम घर्ति मगर र उत्कृष्ट डिफेन्डर अमरका कप्तान निसान थापा घोषित भएका छन् । उनिहरुलाई विशेष पुरस्कार वितरण गरिएको थियो ।