सकियो रियो ओलम्पिक, अमेरिका प्रथम

बागलुङ, ६ भदौं
गत अगष्ट ५ बाट औपचारिक रुपमा ब्राजिलको रियो दी जेनेरियोमा सुरु भएको रियो ओलम्पिक १८ दिन पछि आज सम्पन्न भएको छ । प्रतियोगितामा ८७ देशका खेलाडीहरुले २८ खेलमा कुल ३०७ स्वर्ण, ३०७ रजत र ३६१ काश्य गरी कुल ९७५ पदक जितेका छन् ।
कुल २०६ देश र एक शरणार्थी टिमले भाग लिएको यस रियो ओलम्पिकमा केवल ८७ देशले मात्र पदक जितेका छन् जसमा ५९ देशले स्वर्ण पदक जितेका छन् । रियो ओलम्पिकमा ११९ देशले कुनै पनि पदक जित्न सकेनन् । यस ओलम्पिकमा शरणार्थी टिम पनि प्रमुख चर्चाको विषय बन्यो । कुल ७ खेलाडीले बिना कुनै देश र झन्डा यस ओलम्पिकमा भाग लिएका थिए ।
त्यस्तै रियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंह सबै भन्दा कान्छी खेलाडीको रुपमा सहभागी भईन र संसार भर चर्चा पनि पाइन । रियो ओलम्पिकमा अमेरिकाकी भर्जिनिया थ्रेशरले महिला १० मिटर एयर राइफलमा प्रतियोगिता कै पहिलो स्वर्ण पदक जितेकी थिइन ।
अमेरिकाले प्रतियोगितामा सबै भन्दा बढी ४६ स्वर्ण पदक जित्दै पदक तालिकामा सबै भन्दा अगाडी रहेको छ । अमेरिकाले ६ स्वर्णका साथै ३७ रजत र ३८ काश्य पदक जित्दै पदक तालिकामा प्रथम स्थानमा रह्यो । ग्रेट ब्रिटेन अमेरिका पछि पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । ग्रेट ब्रिटेनले २७ स्वर्ण,२३ रजत र १७ काश्य सहित दोस्रो स्थानमा आएको छ भने चीन २६ स्वर्ण १८ रजत र २६ काश्य सहित पदक तालिकामा तेस्रो स्थानमा रह्यो । त्यस्तै दक्षिण एशियाली देशबाट भारतले एक रजत र एक काश्य पदक जित्न सफल रह्यो । भारतकी पीभी सिन्धुले ब्याटमेन्टनमा रजत पदक जितिन भने महिला रेस्लर साक्षि मलिकले काश्य पदक जितेकी छिन ।
रियो ओलम्पिकमा अमेरिकाका माइकल फ्लेप्सले ४ स्वर्ण पदक र १ रजत पदक जित्दै ओलम्पिकमा कुल २३ स्वर्ण पदको जित्दै नयाँ कीर्तिमानी बनाएर ओलम्पिकका प्रमुख आकर्षणको रुपमा रहे भने एथलेटिक्सका उसेन बोल्ट पनि लगातार ३ ओलम्पिकमा तिन स्वर्ण पदक जित्दै नयाँ किर्तिमान बनाउन सफल भए । त्यस्तै ब्राजिलले पुरुष फुटबलमा पहिलो पदक स्वर्ण पदक जित्यो भने ब्राजिलका नेइमारले ओलम्पिक फुटबलको इतिहासमा सबै भन्दा छिटो १५ सेकेन्डमा गोल गरेर नयाँ रेकर्ड बनाउन सफल भए ।
त्यस्तै आयोजक ब्राजिलले ७ स्वर्ण, ६ रजत र ६ काश्य पदक जितेको छ जसमा पुरुष फुटबलमा पहिलो पटक स्वर्ण पदक जित्दै नयाँ इतिहास बनाएको छ ।
त्यस्तै यस ओलम्पिकमा सिंगापुर, भियतनाम, कोसोभो, फिजी र पोर्टो रिकोले पहिलो पटक ओलम्पिक स्वर्ण पदक जितेका छन् । जसमा सिंगापुरका जोसेफ स्कुलिंगले अमेरिकाका माइकल फ्लेप्सलाई एक सय मिटर बटरफ्लाईमा पराजित गरेर स्वर्ण पदक जितेको विषय प्रमुख चर्चामा रहेको थियो ।
रियो ओलम्पिकमा अमेरिकी स्विमर रायन लोत्चेले आफु एक पेट्रोल स्टेसनमा लुटिएको खबर झुटो भएको बिषयले चर्चा पायो भने फ्रान्सका जिम्नेस्टर समिर एइट खेल्ने क्रममा उनको खुट्टा भाचिएको दृश्य कारुणिक थियो । त्यस्तै अर्के अर्मेनियन वेटलिफ्टर पनि खेल्ने क्रममा हात भाचिएको दृश्य हेर्न नसकिने नै थियो । त्यस्तै रियो ओलम्पिकमा अस्ट्रेलियाका रेस्लर तलगत इल्यासो, अस्ट्रेलिया कै महिला जिम्न्यास्टर किम मिकेल, फ्रेन्स एथलेट योहान डिनिज आ आफ्नो खेल खेल्ने क्रममा घाइते भएर खेल छोड्नु परेको थियो । त्यस्तै ओलम्पिक खेलका क्रममा ६५ फिट माथि रहेको क्यामेरा खस्दा ७ जना दर्शक घाइते भएका थिए ।
यो पालि ओलम्पिकमा आयोजक राष्ट्र ब्राजिलसहित विश्वभरका २०६ राष्ट्रका नेशनल ओलम्पिक कमिटीका करिब १० हजार ५०० खेलाडीहरुले विभिन्न २८ खेलका ३०६ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । यसपटकको ओलम्पिकमा पहिलोपटक विश्वका कान्छा राष्ट्रहरु कोसोभो र दक्षिणी सुडानले समेत सहभागिता जनाए ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी९आईओसी०ले पहिलो पटक गल्फ र रग्वी सेभेनलाई समेत समावेश गरेको थियो । यो ओलम्पिक अवधिको आयोजकले ५२ मोबाइल युनिट, ४० हजार घण्टाको टेलिभिजन फुटेज र ६० हजार घण्टाको डिजिटल फुटेज विश्वभरका आफ्ना राइट्सहोल्डरलाई उपलब्ध गराएको थियो ।
रियो ओलम्पिक सकिए पछि अब सन् २०२० को ओलम्पिक जापानले आयोजना गर्ने छ । जापानको टोकियोमा सन् २०२० को जुलाई २४ देखि अगष्ट ९ सम्म प्रतियोगिता आयोजना हुने छ । सन् २०२० क ओलम्पिक आयोजना टोकियोमा हुने निर्णय सन् २०१३ को सेप्टेम्बरमा नै भैसकेको छ । २०२० को ओलम्पिक आयोजना गर्न देखिएका दाबेदार मध्ये जापानको टोकियो सहरले स्पेनको म्याड्रिड र टर्कीको इस्तानबुललाई पछाडि पार्दै छनौट भएको थियो ।