
नवीन अर्याल
काठमाडौं, ४ भदौ
नेपालले रियो ओलम्पिकमा आफ्नो अन्तिम खेल शनिबार साँझ ७ बजेर ४५ मिनेटमा खेल्दैछ । नेपाली महिला तेक्वान्दो खेलाडी निशा रावल ६७ केजी भन्दामाथिको तौल समूहमा चीनकी सुयिन झिङसँग भिड्दैछिन् ।
रियोस्थित कारिओका एरिना–३ मा उनले चिनियाँ प्रतिद्वन्द्वीलाई पराजित गरेको खण्डमा उनी नेपाली खेल इतिहासमा ओलम्पिकमा पहिलो खेल जित्ने खेलाडी बन्ने छिन् । तर, उनका लागि आजको खेल फलामको चिउरा चपाएसरह हुनेछ। किनभने उनकी प्रतिद्वन्द्वी २२ वर्षीया झिङ गत वर्ष दक्षिण कोरियाको ग्वान्झाउमा भएको युनिभर्सिटी ओलम्पियाडमा ७३ केजी मुनीको प्रतिस्र्धाकी स्वर्ण विजेता हुन् ।
रियो ओलम्पिकमा ७३ केजी तौल समूह समावेश गरिएको छैन । यसपालि महिलाको चार वटा समूहमात्र रियोमा समावेश गरिएको छ । त्यसैले, ६७ केजी भन्दामाथिको तौल समूहलाई हेभिवेट मानिएको छ । र, यही समूहमा निशा युनिभर्सिटी ओलम्पियाडकी विजेतासँग भिड्दैछिन् । ‘मेरो उद्देश्य राम्रो फाइट गर्ने हुनेछ,’ २० वर्षीया निशा भन्छिन् ।
ओलम्पिकमा नेपालको यो तेस्रो सहभागिता हो । र, निशा ओलम्पिक खेल्ने दोस्रो महिला तेक्वान्दो खेलाडी हुन् । सन् २००४ मा संगीना वैध ओलम्पिकमा छनोट भएर पहिलोपल्ट ओलम्पिक खेल्न गएकी थिइन् । उनी पहिलो खेलमै चिनियाँ ताइपेयीकी चेन सी-हासिनसँग पहिलो भिडन्तमै ४-० ले पराजित भएकी थिइन् ।
उनले त्यतिबेला चित्तबुझ्दो प्रदर्शन गर्न सकेकी थिइनन् । अहिले उनी निशाको प्रशिक्षक छिन् । उनी ओलम्पिकमा खेलाडीमा पर्ने मानसिक दबाबलाई कसरी कम गर्ने भनेर उनलाई सिकाइरहेकी छिन् । ‘म उसलाई उत्कृष्ट भिडन्तका लागि प्रेरित गरिरहेकी छु,’ संगीनाले सेतोपाटीसँग भनिन् । सन् २००८ को बेइजिङ ओलम्पिकमा दीपक बिष्ट पनि छनोटमार्फत सहभागी भएका थिए । निशा ‘वाइल्ड कार्ड’मार्फत ओलम्पिक खेल्दैछिन् ।
आजको खेलमा निशा नीलो गार्डमा देखिनेछिन् । निशाको उचाई ५ फिट ६ इन्ची छ र तौल ७३ केजी । उनको तुलनामा चिनियाँ खेलाडी झिङको उचाई ६ फिट २ इन्ची छ र चौल ७५ केजी रहेको छ । ‘म आजको खेलमा नेपालीहरूले पनि ओलम्पिकमा भिड्न सक्छन् भन्ने प्रमाणित गर्न चाहन्छु,’ नेपाली तेक्वान्दोमा आक्रामक खेलाडीको परिचय बनाएकी निशा भन्छिन् । निशाले आफूले खेलेको पछिल्लो ३ ठूला प्रतियोगितामा कुनै पनि खेल जितेकी छैनन् ।
उनी २०१४ दक्षिण कोरियाको इन्चोनमा भएको एसियाडमा मकाउकी वाङ जुनानसँग पहिलो खेलमै ११–४ ले पराजित भएकी थिइन् । २०१५ ग्वाङझुमा भएको युर्निभर्सियाड गेम्समा पनि उनी चीनकी निउ लुलुसँग १४–२ ले पराजित भएकी थिइन् । यही वर्ष ओलम्पिक छनोटका लागि फिलिपिन्समा भएको एसियन ओलम्पिक क्वालिफाइङमा उनी सोही देशकी क्रिष्टी इलेन अलोरासँग ९–० ले पराजित भइन् ।
छ महिनाअघि भारतको आसाम र सिलोङको संयुक्त आयोजनामा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा उनलाई स्वर्णको दावेदार मानिएको थियो। तर, उनको तौल समुहलाई प्रतियोगितामै समावेश गरिएन । त्यही भएर उनले साग गेम्स नै खेल्न पाइनन् । नेपाली खेलकुदमा तेक्वान्दो सबैभन्दा सफल खेल मानिन्छ । नेपालले एसियन गेम्समा १ रजत र ९ कास्य जितिसकेको छ ।
सन् १९८८ मा दक्षिण कोरियाको सिओलमा भएको ओलम्पिकमा तेक्वान्दो खेललाई प्रदर्शनीको रूपमा राखिएको थियो । त्यो खेलमा नेपालका विधान लामाले कास्य जितेका थिए । तर, प्रदर्शनी भएको हुनाले पदक तालिकामा उनले जितको पदक दर्ता भएन् । निशाले आज भिड्ने चिनियाँ खेलाडी सन् २०१० मा सिङ्गापुरमा भएको युथ ओलम्पिकमा ६३ केजी तौल समूह भन्दामाथिको स्वर्ण विजेता पनि हुन् ।
यस वर्ष मनिलामा भएको एसियन च्याम्पियनसिपमा ७३ केजी मुनी झिङले कास्य जितेकी थिइन् । झिङले आफूले खेलेको ६१ वटा फाइटमा ४७ मा जित दर्ता गराएकी छिन् । उनको जित प्रतिशत ७७ मानिन्छ । उनी ६७ केजी माथिको तौल समूहकी स्वर्ण दावेदार पनि हुन्। उनलाई पराजित गर्न सफल भएको खण्डमा निशाको अगाडि पदकको सम्भावना खुल्ने देखिन्छ ।
झिङसँग पराजित भए पनि उनीसँग राम्रो भिडन्त गर्न सफल भएको खण्डमा उनी कास्यका लागि रेपेचार्ज राउन्डमा भिड्न पाउनेछिन् । स्वर्णका लागि पहिलो चरणमा १६ खेलाडी भिड्दैछन् । यसमा जित्ने ८ खेलाडी क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । राम्रो अंक ल्याएर हार्ने ४ खेलाडी भने रेपेचार्ज राउन्डका लागि छनोट हुनेछन् ।