म्याग्दी, २८ साउन
बेनी नगरपालिका कार्यालयले फोहोर सङ्कलन र व्यवस्थापनबाट गएको आर्थिक वर्षमा १२ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको छ ।
सदरमुकाम बेनी क्षेत्रबाट निस्कने फोहोरलाई नगरपालिकाले ट्याक्टरमा सङ्कलन गरी जलेश्वर नजिकै कालीगण्डकीको किनारमा थुपारेर जलाउँदै आएको छ ।
फोहोरको महसुलबाट आम्दानी भएको नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो । अघिल्लो आवमा ११ लाख ९१ हजार रुपैयाँ महसुलबाट आम्दानी भएको थियो ।
बेनीबजार, मङ्गलघाट र गलेश्वर क्षेत्रमा रहेका झण्डै ८ सय घरबाट निस्कने फोहोर दैनिक रुपमा ट्याक्टरमार्फत सङ्कलन गरिन्छ । फोहोर व्यवस्थापन गरेबापत नगरपालिकाले कच्ची र पक्की घर तथा घरको तला अनुसार ५० देखि २ सयसम्म महसुल शुल्क निर्धारण गरेको छ ।