बागलुङमा चुनावको तयारी पुरा

बागलुङ, २० फागुन । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार मतदान केन्द्र निर्माणको कार्य अन्तिम चरणमा पुगेसँगै तयारी पुरा भएको हो ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले मतदान केन्द्रमा भौतिक व्यवस्थापन सकिएको बताउनुभयो । उहाँले मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका, कर्मचारी र सुरक्षाकर्मी सबै केन्द्रमा पुगिसकेका जानकारी दिनुभयो ।

बागलुङमा निर्वाचनका लागि १ सय ७ मतदानस्थल र २ सय ३० केन्द्र तोकिएको छ । केही मतदान स्थल र मतदान केन्द्र निर्माण कार्य सकिएको र केही निर्माणको चरणमा रहेको सूचना अधिकारी शर्माले बताउनुभयो । उहाँले मतदानस्थल र मतदान केन्द्रहरुमा मतदाताको लाइन निर्माण, मतदान गराउने कर्मचारी बस्ने स्थान, मतपेटिका राख्ने स्थान लगायतको व्यवस्थापनको कार्य सकिएको बताउनुभयो ।

बागलुङमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । दुई प्रतिनिधिसभा सदस्य पदको लागि २३ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।

निर्वाचनमा मतदान गराउनका लागि बागलुङमा २३२ जना मतदान अधिकृत, २३२ सहायक मतदान अधिकृतसहित १ हजार ३८० जना कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।

यस्तै मतदानस्थलको सुरक्षा व्यवस्था समेत कडा पारिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताउनुभयो । बागलुङमा सुरक्षा संवेदनशीलता रहेको स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा घेरा दिने गरी व्यवस्था मिलाइएको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

बागलुङमा सुरक्षाका लागि मतदानस्थलमा एक हजार २८२ जना म्यादी प्रहरी र ६३७ जना नेपाल प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले बताउनुभयो । आवश्यकताको आधारमा सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरिएको प्रजिअ कृष्ण प्रसाद आचार्यले बताउनुभयो ।

जिल्लामा ९८ हजार ५७४ पुरुष, ९४ हजार ८०६ महिला र अन्य एक गरी कुल एक लाख ९३ हजार ३८१ मतदाता रहेका छन् । सबैभन्दा धेरै मतदाता निर्वाचन क्षेत्र नम्बर १ मा रहेका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माका अनुसार क्षेत्र नम्बर १ मा ९८ हजार ४६ जना र क्षेत्र नम्बर २ मा ९५ हजार ३३५ जना मतदाता रहेको छन् ।