
बागलुङ, ९ माघ । चौथो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (रातो), आदर्श विद्यामन्दिर र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (निलो)ले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिताको पहिलो खेलमा आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (रातो)ले मुलपानी माध्यमिक विद्यालयलाई ३–० गोलअन्तरले पराजित गर्यो । प्रतियोगिताको दोस्रो खेलमा आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले गुराँस विद्या सदनलाई १–० को प्रतिस्पर्धात्मक जित निकाल्यो ।
यस्तै पहिलो दिनको अन्तिम खेलमा आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (निलो)ले कुँडुले माध्यमिक विद्यालयलाई ६–० गोलअन्तरले पराजित गरेको छ । चल्ड्रेनको जितमा बरदान थापाले ह्याट्रिक गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले गर्नुभएको थियो । उहाँले बागलुङ फुटबलको उर्बरा भुमि रहेको बताउँदै जिल्लाको फुटबल विकासमा गण्डकी प्रदेश फुटबल संघ र व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नूभयो ।
चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबका अध्यक्ष एवं चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबका उपाध्यक्ष जीवन रोका र संचालन सचिव सुरेश विकले गर्नुभएको थियो ।
चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको आयोजना र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलको सहआयोजनामा संचालित प्रतियोगितामा बागलुङ जिल्लाका ११ विद्यालयका १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको दोस्रो दिन शनिबार पाँच खेल हुने क्लबका उपाध्यक्ष रोकाले बताउनुभयो ।
शनिबारको पहिलो खेल फ्युचर ब्राइटर माध्यमिक विद्यालय र गरिमा आवासिय माध्यमिक, दोस्रो खेल आयोजक चिल्ड्रेन लाईफ (रातो) र न्यू ओयसिस एकेडेमी, तेस्रो खेल आदर्श विद्यामन्दिर र विद्या मन्दिर माध्यमिक विद्यालय, चौथो खेल चिल्ड्रेन लाईफ (निलो) र रुद्रेपिपल माध्यमिक विद्यालय र पाँचौ तथा अन्तिम खेल अमर आदर्श माध्यमिक विद्यालयले फ्युचर ब्राइटर र गरिमा आवासिय विचको विजेता टिमसँग प्रतिस्पर्धा गर्ने उपाध्यक्ष रोकाले जानकारी दिनुभयो ।
माघ १२ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ५५ हजार ५ सय ५५ रुपैयाँ र ३३ हजार ३ सय ३३ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनल पुग्ने टिमले नगद १० हजार रुपियाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।










