
बागलुङ, १६ भदौ । बागलुङमा आईतबारदेखि एन्फा यू१४ अन्तर विद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ ।
बागलुङ जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा छात्रतर्फ कालिगण्डकी आवासिय माध्यमिक विद्यालय र छात्रातर्फ न्यू ओएसिस एकेडेमीले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा कप्तान शिव क्षेत्रीको दुई गोलको मद्धतमा कालिगण्डकीले सिदार्थ शिक्षा सदनलाई ३–० गोलअन्तरले पराजित गर्यो । पहिलो हाफमा शंकर कंडेलको गोलबाट अग्रता लिएको कालिगण्डकीको लागि दोस्रो हाफमा कप्तान शिवले दुई गोल गरेका थिए । विजेता कालिगण्डकीले तीन अंक प्राप्त गर्यो ।
यस्तै छात्रा तर्फ न्यू ओएसिस एकेडेमीले विद्यामन्दिर माध्यमिक विद्यालयलाई १–० गोलअन्तरले पराजित गरेको छ । न्यू ओएसिसको लागि बर्षा कार्कीले फ्रिकिक मार्फत गरेको सुन्दर गोल जितको लागि निर्णयक बन्यो । विजेता न्यू ओएसिसले तीन अंक प्राप्त गरेको छ ।
लिगकम नकआउटको आधारमा संचालन हुने प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ ५ विद्यालयको सहभागिता रहेको बागलुङ जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले जानकारी दिनुभयो । उहाँले छात्रतर्फ सहभागी विद्यालयहरुलाई तीन समुहमा विभाजन गरि लिग संचालन गरिएको बताउँदै समुहको टपमा रहने तीन टिम र दोस्रो स्थानमा रहने उत्कृष्ट एक टिम नकआउटको रुपमा अघिल्लो चुरणमा पुग्ने बताउनुभयो । छात्रातर्फ लिगको टपमा रहने टिम विजेता हुनेछ ।
प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष जय बहादुर केसीले विद्यालयस्तरमा रहेका साना बालबालिकाहरुलाई खेलबाट अनुशासन सिकाउन सकिने बताउनुभयो । उहाँले बालबालिकाहरुलाई खेलकुद मार्फत प्रतिस्पर्धात्मक सोचको विकास गर्नु सकरात्मक रहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. २ का वडाअध्यक्ष सुरज बोसेल र नेशनल प्याव्सन गण्डकी प्रदेशका उपाध्यक्ष निशान खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । बागलुङ जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा उपाध्यक्ष तथा प्रतियोगिताका मुख्यसंयोजक राहुल बोहोराले स्वागत मन्तव्य र महासचिव रेशम गोतामेले संचालन गर्नुभएको थियो ।
प्रतियोगितामा छात्रतर्फको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार रुपियाँ तथा छात्रातर्फको विजेताले नगद १२ हजार रुपियाँ र उपविजेताले ८ हजार रुपियाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागलुङ जिल्ला फुटबल संघका कोषाध्यक्ष सुर्य लामिछानेले जानकारी दिनुभयो ।










