
बागलुङ, ३० साउन । बागलुङको काठेखोला गाउँपालिकाका विद्यालयहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरा कुथुर्केका स्वर्गीय पिता खडानन्द कँडेल र स्वर्गीय माता गौमति कँडेलको सम्झनामा छोराहरू ऋषिराम कँडेल, कृष्ण प्रसाद कँडेल, जगन्नाथ कँडेल, प्रजापति कँडेल, चन्द्रलाल कँडेलले गाउँपालिका भित्रका १० वटा माध्यमिक, १३ वटा आधारभूत विद्यालय र कंडेल परवारले अध्ययन गरेको एक विद्यालयलाई बिहिबार स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।
१० वटा माध्यमिक विद्यालयलाई सेनेटरी प्याड भेन्डिङ मेसिन र ब्लड प्रेसर नाप्ने विपी सेट, १३ वटा आधारभूत विद्यालय तथा परिवारका सदस्यहरूले अध्ययन गरेका एक विद्यालयलाई विपी सेट वितरण गरिएको चन्द्रलाल कंडेलले बताउनुभयो । उहाँले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरेर स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको बताउनुभयो ।
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले आफ्नो दिवंगत आमाबुबाको सम्झनामा यति महत्वपूर्ण र प्रशंसनीय कार्य गरेकोमा कँडेल परिवारप्रति धन्यवाद ज्ञापन गर्दै यस्तो सत्कर्म नै वास्तविक श्रद्धाञ्जली हुने बताउनुभयो । उहाँले बालबालिकाहरु भोलीका कर्णधार भएकाले उनीहरुको स्वास्थ्यमा सवैले ध्यान दिनुपर्ने बताउनुभयो । अध्यक्ष थापाले बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिन गाउँपालिका सधै लागि परेको बताउँदै गाउँपालिकालाई अभिभावक, शिक्षक र विद्यार्थीहरुले साथ दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की, वडा नं. २ का वडा अध्यक्ष विद्यापती शर्मा, रेश नुनथला मा.वि.का प्रधानाध्यापक ओमबहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
चन्द्रलाल कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नातिनी ज्योति कंडेल र संचालन नाति अशोक कंडेलले गर्नुभएको थियोभने पुरुषोत्तम कंडेलले स्वर्गीय खडानन्द कंडेल र गीतादेवी कंडेलको जीवनबारे जानकारी गराउनुभएको थियो ।










