नेपाल बाल संगठन बागलुङको सभापतिमा शर्मा चयन

सुजन रेग्मी
बागलुङ, १४ साउन । नेपाल बाल संगठन बागलुङको सभापतिमा तारा शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ । मंगलबार भएको प्रथम अधिवेशनले शर्माको नेतृत्वमा ८ सदस्य समिति चयन गरेको हो ।

संगठनको उपसभापतिमा रेणु केसी हमाल, सचिवमा चुडामणि उपाध्याय र कोषाध्यक्षमा योगेश अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा भोजराज पौडेल, विष्णु विक, सृष्टी क्षेत्री र करमती पुन मगर सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता राम शर्माले बताउनुभयो ।

यसअघि शर्माकै अध्यक्षतामा तदर्थ समिति बनेको थियो । समितिलाई अधिवेशन गराउने अधिकार दिएपछि मंगलबार जिल्ला भेला भएको हो ।

भेलाको उद्घाटन गर्दै नेपाल बाल संगठन केन्द्रीय समितिकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बालबालिकाले अधिकार प्राप्त गर्न सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो । बालबालिकाको अवस्था दयनीय रहेकोले उनीहरुको हितमा निश्वार्थ काम गर्ने संस्थाको रुपमा बाल संगठनलाई विकास गर्ने उहाँले बताउनुभयो ।

उहाँले बालबालिकालाई सुरक्षा गर्ने, उद्दार गर्ने काममा राज्यको दायित्व हुनुपर्नेमा अहिले सामाजिक संस्थाले गरिरहेको बताउनुभयो । राज्यलाई उत्तरदायी बनाउने काममा पनि संगठनले भूमिका खेल्ने उहाँको भनाइ छ ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष सुरज बोसेल, विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतम, धवलागिरि बहुमुखी क्याम्पसकी स्ववियु अध्यक्ष आस्मिन शेख, नेपाल पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सिर्जना पन्त लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नूभएको थियो । तदर्थ समितिकी अध्यक्ष तारा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विज्ञान शर्माले स्वागत मन्तव्य र चुडामणी उपाध्यायले संचालन गर्नुभएको थियो ।