ढोरपाटन भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि

बागलुङ, १२ साउन । नेपालकै एक मात्र सिकार आरक्ष ‘ढोरपाटन सिकार आरक्ष’ घुम्न जाने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ ।

धार्मिक तथा रमणीय पर्यटकीय गन्तव्यको रुपमा रहेको ढोरपाटनमा गतआर्थिक वर्ष २०८१/०८२ मा २३ हजार ६ सय ९२ पर्यटक ढोरपाटन भ्रमण गर्न पुगेको ढोरपाटन सिकार आरक्ष कार्यालयका कर्मचारी पदम रोकायाले जानकारी दिनुभयो । आ.व. २०८०/०८१ मा १५ हजार पर्यटकले ढोरपाटन भ्रमण गरेका थिए ।

ढोरपाटन सिकार आरक्ष कार्यालयले विदेशी पर्यटकको मात्रै तथ्याङ्क राख्दै आएकोमा विगत तीन वर्षदेखि आन्तरिक पर्यटकको पनि तथ्याङ्क राख्न थालेको छ । सिकार आरक्षका रोकायाको अनुसार गतआवमा २३ हजार चार सय ६७ जना नेपाली नागरिक, सार्क देशका १२ जना र तेस्रो मुलुकका दुई सय १३ जनाले ढोरपाटनको भ्रमण गरेका छन् ।

केही समय पहिलेसम्म ढोरपाटनमा शिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकोमा पछिल्लो समय शिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेल ढोर, ढोर वराह मन्दिर, बुकी पाटन लगायतका क्षेत्रको अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन् । ढोरपाटनको प्रचारप्रसारका कारण पर्यटकहरुको आवागमन वृद्धि हुँदै गएको ढोरपाटन नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष खिमबहादुर घर्तिले बताउनुभयो । उहाँले ढोरपाटनको सौन्दर्यले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरेको बताउनुभयो ।

ढोरपाटनमा वर्षमा दुई पटक सिकार याम संचालन हुन्छ । ढोरपाटनमा नाउर र झारलको शिकार गर्नको लागि विदेशी पेशेवर सिकारीहरु आउने गर्दछन् । पछिल्लो समय सडकको पहुँच, होटल सुविधा तथा प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक घुम्नका लागि त्यहाँ पुग्न थालेका छन् । वैधानिक रूपमा नाउर र झारलको शिकार खेल्न पाइने आरक्ष क्षेत्र प्रवेशमा नेपाली र बाह्य पर्यटकले प्रवेश शुल्क तिर्नुपर्छ ।

पर्यटकहरुको संख्या वृद्धि हुँदै गएपछि ढोरपाटन उपत्यकामा दुई जर्नह होटल तथा होमस्टे (घरबास) संचालनमा आएका छन् । अहिले ढोरपाटनमा दैनिक तीन सय बढी पर्यटक आउने गरेको ढोरपाटनका होटल व्यवसायी रामबहादुर घर्तीले बताउनुभयो । पर्यटकको संख्या वृद्धि हुँदै गएपछि व्यवसाय फस्टाउँदै गएको घर्तीको भनाई छ ।

पर्यटकहरु उपत्यकादेखि करिव ४३ हजार मिटर बुकी पाटनसम्म पुग्न थालेपछि अहिले उच्च भागमा गोठ स्टे संचालनमा ल्याएको छ । पर्यटकको सहजताका निम्ती गोठस्टे स्थापना भएपछि खान, बस्न र घुम्नका निम्ती सहजता प्राप्त हुने गरेको स्थानीय व्यवसायी महेन्द्र घर्तीले बताउनुभयो ।

ढोरपाटन सिकार आरक्ष पुग्न जिल्ला सदरमुकाम बागलुङ बजारदेखि बूर्तिवाङसम्मको करिव ९० किलो मिटर सडक मध्यपहाडी लोकमार्गले चर्चेको छ । बूर्तिवाङ बजारदेखि करिव ३० किलो मिटर कच्ची सडक पार गरेपछि ढोरपाटन उपत्यकामा पुग्न सकिन्छ । ढोरपाटनमा घोडासवारी समेत संचालनमा रहेको छ ।