जन श्रमदानमार्फत सडक मर्मत

बागलुङ, ४ साउन । बागलुङको काठेखोला गाउँपालिकाका स्थानीयहरुले जनश्रमदानमार्फत सडक मर्मत तथा स्तरोन्नति गरेका छन् ।

काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरा र वडा नम्बर ७ रेशका स्थानीयहरुको सक्रियतामा सडक सुधार गरिएको हो ।

भीमापोखरा कल्याण समाजकोको समन्वयमा शनिबार काठेखोला–२ भीमापोखराको झण्डै चार किलोमिटर सडक मर्मत गरिएको छ । ८५ जना स्थानीयको सहभागितामा अक्षेतेदेखि वडा कार्यालयसम्म पुग्ने सडक अन्तरगत ४ किलोमिटर सडकको नाली सफा गर्ने, खाल्टाखुल्टी पुर्ने र अफ्ठ्यारो ठाउँमा मर्मत गर्ने काम गरिएको भीमापोखरा कल्याण समाजका अध्यक्ष अध्यक्ष डिल्लीराज उपाध्यायले बताउनुभयो ।

अध्यक्ष उपाध्यायले अहिले सारा काम सरकारले गरिदिन्छ भन्ने मानसिकता हटाउँदै, केही काम समुदायले पनि गर्नुपर्छ भन्ने सोचसहित जनश्रमदान गरिएको जानकारी दिनुभयो । ‘विगतमा बाउबाजेहरुले सबै काम जनश्रमदानबाट गर्थे, हामीले त्यो परम्परा बिर्सनु हुँदैन,’ अध्यक्ष उपाध्यायले भन्नुभयो,‘आफ्नो समुदायको विकासको लागि सवैले जनश्रमदान गर्नुपर्छ।’

समुदायले आफैं अघि सरेर केही काम गर्नु आवश्यक रहेकोमा अध्यक्ष उपाध्यायको भनाई छ । ‘सरकारको मुख ताक्ने प्रवृत्ति हटाउँदै, जनश्रमदानमार्फत केही योगदान गर्नुपर्छ भन्ने सोचका साथ अभियान अघि बढाइएको हो,’ उहाँले भन्नुभयो ।

कल्याण समाजका निवर्तमान अध्यक्ष टिका बहादुर कार्कीले समुदायको विकासको लागि र समाजको लागि श्रमदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पहिले श्रमदान अनिवार्य भएपनि अहिले हराउँदै गएको बताउँदै अब निरन्तरता दिन आवश्यक रहेकोमा बताउनुभयो ।

सडक सुधार पश्चात सवारीसाधन आवतजावत गर्न सहज भएको स्थानीय सवारी चालक बलराम पौडेलले बताउनुभयो । उहाँले वर्खाको समाय स्थानीयहरु एक जुट भइ सडकमा श्रमदान गरेमा सवारी संचालनमा सहज हुने बताउनुभयो । श्रमदानको लागि सवारीधनी र सवारी चालक सधै तयार रहेको उहाँको भनाई छ ।

त्यस्तै, वडा नम्बर ७ रेशमा पनि साबिक रेश ९, २ र ४ अन्तर्गतका जिरेती, तिङरिङ, दामगाडे, रोटेपानीका स्थानीयले सडक मर्मत गरेका छन् । रोटेपानी टोल सुधार समिति र ओदानडाँडा मन्दिर व्यवस्थापन समितिको नेतृत्वमा जनश्रमदान गरि पहिरोले अवरुद्ध गरेको मन्दिर जाने गोरेटो बाटो पुनःसञ्चालनमा ल्याइएको रेशका वडाअध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । स्थानीयहरुले सडकको नाली सफा गर्ने, खाल्डो पुर्ने र जोखिमपूर्ण स्थानमा मर्मत गर्ने कार्य गरेका छन् ।

जनश्रमदानका कार्यक्रमलाई निरन्तरता दिइने भीमापोखरा कल्याण समाजका अध्यक्ष उपाध्यायले बताउनुभयो । उहाँले वर्षमा कम्तीमा तीन–चार पटक श्रमदानका कार्यक्रम संचालन गरिने बताउनुभयो ।