
बागलुङ, ३ साउन । प्रथम केआइइसी कप अन्तर बिद्यालय एसएलसी फुटसल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफ इङ्गलिस बोडिङ स्कुल ‘बि’ले जितेको छ ।
शनिबार प्रतियोगिताको फाइनलमा चिल्ड्रेन लाईफले आदर्श बिद्यामन्दिर माध्यमिक विद्यालयलाई ११–४ गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । पहिलो हाफमा ३–३ गोलको बराबरीमा चित्त बुझाएको चिल्ड्रेन लाईफले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै फराकिलो जित निकाल्यो । चिल्ड्रेनलाई उपाधि दिलाउन फाइनल खेलमा सौरव गौतमले ८ गोल गरेका थिए ।
बिजेता चिल्ड्रेन लाइफले नगद नगद २५ हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छभने उपबिजेता आदर्श बिद्यामन्दिरले नगद १५ हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । यस्तै बिद्यागत तर्फ सर्वोत्कृष्ट खेलाडी आदर्श बिद्यामन्दिरका सुझाव बानियाँ, उत्कृष्ट किपरमा चिल्ड्रेन लाइफका लोकमान थापा र सर्वाधिक गोलकर्तामा चिल्ड्रनका सौरव गौतम हुनुभएको छ ।
केआइइसी बागलुङ शाखाले माध्यमिक तहसम्म अध्ययन गर्ने बिद्यार्थी अर्थात कक्षा १२ को परिक्षा दिएर बसेका बिद्यार्थीहरुलाई मध्य नजर गर्दै प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा बागलुङसहित कास्की र म्यागदी जिल्लाका विद्यालयका १६ टिमले सहभागिता जनाएको केआईसी बागलुङ शाखाका सन्तोष पौडेलले बताउनुभयो ।
यस्तै फाइनल खेल अगाडी भएको नेपाल पत्रकार महासंघ बागलुङ र केआइइसीका बिचको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार महासंघ बिजयी भएको थियो । महासंघले १५ गोल गरेको थियो भने आयोजना केआइइसीको तर्फबाट ९ गोल भएको थियो ।









