
बागलुङ, १ साउन । बागलुङमा प्रथम केआइइसी अन्तर एसएलसी फुटसल प्रतियोगिता हुने भएको छ ।
माध्यमिक तहसम्म अध्ययन गर्ने बिद्यार्थी अर्थात कक्षा १२ को परिक्षा दिएर बसेका बिद्यार्थीहरुलाई मध्य नजर गर्दै केआइइसी बागलुङ शाखाले प्रतियोगिताको आयोजना गरेको हो । शुक्रबार र शनिबार हुने प्रतियोगितामा तीन जिल्लाका विद्यालयका १५ टिमले सहभागिता जनाउने केआईसी बागलुङ शाखाका सन्तोष पौडेलले बताउनुभयो । उहाँले कास्कीबाट एक, म्याग्दीबाट एक, बागलुङको गलकोटबाट एक र बागलुङ बजारका १२ टिमले प्रतियोगितामा सहभागिता जनाउने बताउनुभयो ।
प्रतियोगिताको बिजेताले नगद २५ हजार रुपियाँसहित ट्रफि, मेडल र प्रमाण पत्र तथा उपबिजेताले नगद १५ हजार रुपियाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै बिद्यागत उत्कृष्ट हुने खेलाडिलाई पनि पुरस्कारको व्यवस्था गरिएको पौडेलले बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट बन्ने खेलाडीलाई केआइइसीले आइएल्स तथा पिटिइ अध्ययनमा शतप्रतिशत र सहभागी खेलाडीलाई ५० प्रतिशत छुटमा अध्यापन गराउने जनाएको छ । प्रतियोगिता संचालन गर्न एक लाख पचास हजार खर्च लाग्ने अनुमान गरिएको पौडेलले जानकारी दिनुभयो । पत्रकार सम्मेलनको संचालन पत्रकार रोहन जिसीले गर्नु भएको थियो ।








