
बागलुङ, २५ असार । बागलुङका सात जना पत्रकार पुरस्कृत हुनुभएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको रजत जयन्तीको अवसरमा दुई पत्रकारिता पुरस्कार कोषबाट सात जना पत्रकार पुरस्कृत हुनुभएको हो ।
बागलुङका समाजसेवी तीर्थ प्रसाद श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठ, मनोविज्ञान श्रेष्ठ, श्रीजय श्रेष्ठको परिवारले नेपाल पत्रकार महासंघ बागलुङमा स्थापना गरिएको हरिलक्ष्मी नारायण प्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट चार जना र पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष हरिनारायण गौतमको परिवार र गौतमकी धर्मपत्नि पिम्ला गौतमले आफ्ना बाबुआमाको स्मृतिमा स्थापना गरेको पुरस्कार कोषबाट तीन जनालाई पुरस्कृत गरिएको हो ।
‘हरिलक्ष्मी–नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कार–२०७९ बाट किरण आचार्य, २०८० बाट कोपीला कँडेल, २०८१ बाट दिल शिरीष र २०८२ बाट सुवास आचार्य पुरस्कृत हुनुभएको छ । उहाँहरु जनही रु २० हजारसहित पुरस्कृत भएको पत्रकार महासंघ बागलुङ अध्यक्ष राम थापाले जानकारी दिनुभयो ।
त्यस्तै नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार तारानाथ आचार्य, २०८० बाट प्रकाश बराल, २०८२ बाट प्रदीप पन्त पुरस्कृत हुनुभएको अध्यक्ष थापाले बताउनुभयो । उहाँहरुले जनही रु २० हजार र सम्मान पत्रले पुरस्कृत हुनु भएको हो ।








