मेलमिलापको असल अभ्यासका लागि जैमिनीमा आमा समूह सम्मेलन

बागलुङ, १५ असार । जैमिनी नगरपालिकामा मेलमिलापको असल अभ्यासका लागि आमा समूहको सम्मेलन गरिएको छ । जैमिनी नगरपालिकाको न्यायिक समितिको आयोजनामा शनिबार आमा समूह सम्मेलन तथा संवाद गरि ११ बुँदे घोषणा पत्र जारी गरिएको छ ।

सम्मेलनले न्याय सम्पादन र विवाद निरुपणका लागि मेलमिलापलाई प्रभावकारी बनाउन आमा समूहहरुको सशक्तिकरण तथा संस्थागत सुद्धढिकरण गर्न प्रतिबद्ध हरने, आमा समूहहरुका अनुभवहरुलाई मेलमिलाप र स्थानीय विवाद समाधानका लागि ग्रहण गर्ने, शान्ति, मेलमिलाप कायम गर्दै विवादहरु स्थानीय स्तरमा नै समाधान गरी समाजमा सामाजिक सद्भाव र दिगो अमनचयन कायम गर्ने, सामाजिक न्याय, सुशासन, समृद्धि, जागरण र समावेशी विकासका लागि महिला शसक्तिकरण गरि सहकार्य गर्दै आपसी मेलमिलाप, समन्वय र सहयोगका माध्यामबाट नगरपालिकाको समग्र विकास निर्माण कार्यहरुमा सहभागि हुने घोषणा पत्रमा उल्लेख गरिएका छ ।

यस्तै समुदाय स्तरमा हुने लागुऔषधको प्रयोग, जुवातास, मादकपदार्थ सेवन, बाल विवाह, बहुविवाह, दाइजो प्रथा र जातिय भेदभाव जस्ता दुव्र्यसनलाई नियन्त्रण गर्ने, महामारी र विपद्जन्य घटनाको प्रतिकार्यका लागि समाजका सदस्यहरुलाई नै परिचालन गरि पुनरुत्थानका लागि क्रियाशिल रहने र अपराधिक घटनाहरु नियन्त्रण गर्न सहयोग तथा सहजिकरण गर्ने, समान ज्यालाको व्यवस्था गर्न सरोकारवालासँग माग गर्ने घोषणा पत्रमा उल्लेख गरिएको नगरउपप्रमुख हरिहर शर्माले बताउनुभयो । नगर उपप्रमुख हरिहर शर्मा, आमा समूहहरुको तर्फबाट जैमिनी ७ को जैदी आमा समूहकी अध्यक्ष कलाबती राना र ज्येष्ठ मेलमिलापकर्ता गोपालप्रसाद शर्माको हस्ताक्षरमा घोषणापत्र जारी भएको हो ।

सम्मेलनको उद्घाटनसत्रमा उच्च अदालत बागलुङका मुख्य न्यायाधीश नातीबाबु लामिछानेले मेलमिलापबाट समाजका घटनाहरुलाई मेलमिलापबाट समाधान गर्न नसके अदालतमा आउने बाटो खुल्ला रहेको बताउनुभयो । उहाँले अदालतले घटनाको मिसायल हेरेर न्याय सम्पादन गर्ने बताउँदै अदालतका गुनासो भएमा भेटेर सुझाव दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख नर बहादुर पुन, प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले मन्तव्य राख्नुभएको थियो । सम्मेलनमा वरिष्ठ अधिवक्ता तथा मेलमिलाप अभियन्ता कुमार आचार्य र अधिवक्ता तथा महिला अधिकारकर्मी गीता श्रीषले सहजीकरण गर्नुभएको थियो ।

नगरउपप्रमुख तथा न्यायिक समितिका संयोजक हरिहर शर्माले समाजमा हुने ससाना झैझगडा र विवादको मूल कुरा थाहा पाउने नै आमा समूह रहेकोले उहाँहरुलाई मेलमिलापको जानकारी गराउँदै सम्मेलन गरिएको बताउनुभयो । उहाँले आमा समुहलाई मेलमिलापकर्ता बनाएमा न्याय छिटो पाइने र समाजमा शान्ति स्थापना गर्न सकिने बताउँदै संघियताले सवै विषयमा अदालत जाने पद्धतिको अन्त्य गरेको बताउनुभयो । सम्मेलनमा जैमिनी नगरपालिकाका १० वटै वडाका आमा समूहको सहभागिता रहेको थियो ।