
बागलुङ, २ असार । बागलुङको कमर्शियल बहुउद्देश्यीय सहकारी संस्थाले सहिद स्मृति पार्कमा सरसफाई गरेको छ ।
सहकारीले संस्थाको १९ औँ स्थापना दिवसको अवसरमा आईतबार बागलुङ नगरपालिका वडा नं. १ स्थित सहिद स्मृति पार्कको सरसफाई गरेको हो ।
स्थापना दिवसका अवसरमा आयोजित सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले देशकै सिंगो सहकारी अभियानमा आक्रमण भइरहेको समयमा कमर्शियल जस्ता सहकारीको नीति विधि र सिद्धान्त अनुसार चलेका सहकारीका कारण आम सर्वसाधारणमा आशा जगाइरहेको बताउनुभयो । उहाँले सहकारीको उद्देश्य अनुरुप बहुउद्देश्यीय काम गर्दै आएकोमा कमर्शियल सहकारीलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जयबहादुर क्षत्रीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सहकारीका सञ्चालक, कर्मचारी र शेयर सदस्य मिलेर सहिद स्मृति पार्कको वरिपरि रहेका सिसा, पानीका बोत्तल, प्लाष्टिक, घाँस, बुट्यान र पोखरीमा रहको फोहोर सफा गरेको सहकारीका प्रबन्धक इश्वर मल्ले बताउनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष हिरामणी उपाध्यायको अध्यक्षता तथा सचिव टेकबहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।










