
बागलुङ, १ असार । गुहेंली संचार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित हुँदै आएको जननिगरानी साप्ताहिक पत्रिका आजदेखि नवौँ वर्षमा प्रवेश गरेको छ । पत्रिकाले आठौँ वार्षिकोत्सव आईतबार मनाएको छ ।
आठौँ वार्षिकोत्सवको उद्घाटन काठेखोला गाउँपालिकाका संस्थापक अध्यक्ष अमर बहादुर थापाले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै उहाँले राम्रो कामको प्रशंसा गर्दै नराम्रा कामको खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चार माध्यमले खबरवारी गर्दै सरोकारवालाहरुलाई गलतबाटोमा जानबाट रोक्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकारहरुले स्थानीय सरकारले गरेका राम्रा गतिविधिलाई प्रोत्साहन गरि प्रचारप्रसार गर्नुपर्ने गाउँपालिकाका निवर्तमान अध्यक्ष थापाको भनाई छ । उहाँले न्यू मिडियाको स्थापना पछि छापा सञ्चार माध्यम संचालनमा समस्या रहेको बताउँदै छापा सञ्चारलाई जोगाउन सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो ।
थापाले आफु गाउँपालिका अध्यक्ष हुँदा काठेखोला गाउँपालिकालाई केन्द्रमा राखेर जननिगरानी स्थापना भएको स्मरण गर्दै निरन्तर संचालन भइरहन शुभकामना दिनुभयो । उहाँले स्थानीय सरकारसँगको सहकार्यमा पत्रिकाले प्रत्येक अंकको एक पेजमा गाउँपालिकाका गतिविधिहरुलाई स्थान दिएको बताउँदै स्थानीय सरकारले सञ्चार माध्यम जोगाउन भुमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँलेसंचार माध्यमहरु निश्पक्ष बन्नुपर्ने बताउँदै कसैको पक्षमा मात्रै लाग्ने नभइ सबैको बन्नुपर्नेमा जोड दिनुभयो । आम नागरिकको विश्वास समेत पत्रकारितामा भएकोले सत्य लेख्न पत्रकार डरायो भने देशमा बेथिती मौलाउने थापाले बताउनुभयो ।
कार्यक्रममा काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूर्ण बहादुर कार्कीले गाउँपालिकालाई लक्षित गरी विकास निर्माण सहित जनतालाई सुसूचित गराउन भुमिका खेलेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
काठेखोला गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष खडक बहादुर थापाले सञ्चार माध्यमले सत्य र तथ्यलाई छुटाएर प्रकाशन गर्नुपर्ने बताउँदै पछिल्लो समय युट्युब लगायतका सामाजिक सञ्जालमा पछिल्लो समय भ्रम पैदा गर्ने फेक समाचार आउने गरेकोले नियमक निकायले नियम गर्न आवश्यक रहेको बताउनुभयो । वडा नं. २ का वडाअध्यक्ष विद्यापति शर्माले सञ्चार माध्यमले समाचार प्रकाशनमा नकरात्मक रुपमा सोच्नुभन्दा सकारात्मक रुपमा सोच्नुपर्ने बताउनुभयो । उहाँले जनताको जीवनमा कष्टकरका समस्यालाई सञ्चार माध्यमले उजागर गर्नुपर्ने बताउनुभयो ।
जिल्ला दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक थापाले सवै सेयर सदस्यहरु क्रियाशिल भएमा सहकारीमा समस्या नहुने बताउनुभयो । उहाँले ऋण असुली नहुँदा सहकारीमा समस्या पैदा हुने गरेको बताउँदै सहकारी जोगाउनका लागि जनप्रतिनिधि र स्थानीय तहको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले स्थानीय तहसँग सहकार्य गर्दा मिडिया जोगिने बताउनुभयो । पछिल्लो समय मोफसलका मिडिया संचालनमा समस्या आएको बताउँदै सञ्चार माध्यम जोगाउन सवैले सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले स्थानीय तहसँग सहकार्य गरेपनि पत्रकारिताको धर्म भुल्न नहुनेमा जोड दिनुभयो । उहाँले सकरात्मक कामको प्रचार गर्दै नकरात्मक भएमा पत्रकारहरुले खबरदारी गर्नुपर्ने बताउनुभयो । अध्यक्ष थापाले पछिल्लाले समय जिल्लाका स्थानीय तह र सरकारी कार्यालयका सूचनाहरु बाहिर जाने गरेको बताउँदै स्थानीय सञ्चार माध्यमबाट प्रकाशन गर्न स्थानीय तहलाई आग्रह गर्नुभएको थियो ।
गुहेली संचार सहकारी संस्थाका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य प्रबन्धक प्रसाद थापा र संचालन कोषाध्यक्ष टिकाराम शर्माले गर्नुभएको थियो ।
गुहेंली सञ्चार सहकारी संस्था लिमिटेडले २०७४ सालमा काठेखोला गाउँपालिकामा मुख्य कार्यालय स्थापना गरी जननिगरानी साप्ताहिक पत्रिका संचालन शुभारम्भ गरेको थियो । हाल बागलुङ बजारमा सेवा केन्द्र संचालन गरेको छ । सहकारीले पत्रिका सहित खबरवेडटकम अनलाईन र बचत तथा ऋणको कारोबार गर्दै आएको छ ।













