बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङ, ३० जेठ । बागलुङमा पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने १४ जना घाईते भएका छन् ।

बागलुङको बुर्तिबाङ बजारदेखि यात्रु बोकेर ढोरपाटन–सालझण्डी सडक खण्डहुँदै सहीखोला तर्फ जाँदै गरेको लुम्बिनी प्रदेशको ०१–००१ च १७७५ नम्बरको जिप ढोपाटन नगरपालिका वडा नं. ५ बतासेडाँडामा शुक्रबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो । जीपमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

घाईतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छभने दश जनाको अवस्था मध्यम र एकको अवस्था सामान्य रहेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो । मृत्तकहरुको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको हाल बुर्तिवाङ अस्पतालमा उपचार भईरहेको प्रनाउ पाण्डेले बताउनुभयो ।

जीप सडकदेखी अन्दाजी ५० मिटर तल खेतमा खसेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।