समय अगावै काम सक्ने निर्माण कम्पनी सम्मानित

बागलुङ, २५ जेठ । तोकिएको समय भन्दा ६ महिना अघि सम्पन्न गर्ने निर्माण कम्पनीलाई बागलुङमा सम्मान गरिएको छ ।

बागलुङको जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकामा पर्ने कालीगण्डकी करिडोरको हर्मीचौर–बलेवा’ खण्डको ४५ किमी सडकको तोकिएको समयभन्दा करिव ६ महिनाअगाडी नै सम्पन्न गरेपछि  जैमिनी नगरपालिकाको अगुवाईमा शनिबार कालीका कन्ट्रक्सन र करिडोर आयोजना कार्यालयलाई सम्मान गरिएको हो । नगरपालिकाले काम समयमै सम्पन्न गर्न वातावरण र सहयोग गरेको भन्दै आयोजना प्रमुख कल्पना अधिकारी र कन्ट्रक्सनका आयोजना प्रमुख महेश सुवेदीलाई समेत सम्मान गरेको छ ।

समयमै काम सम्पन्न गरेर उदाहरणीय बनेकोले सम्मान गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । ‘कन्ट्रक्सनले जसरी सबै निर्माण व्यवसायीले समयमै आयोजनाहरुको निर्माण सम्पन्न गर्न सके विकास निर्माणले फड्को मार्नेछ,’ उहाँले भन्नुभयो । शर्माले ठेकेदार कम्पनी सबैले काम अलपत्र पारेका छैनन् भन्ने सन्देश बागलुङबाट दिएकोले सम्मान गरिएको बताउनुभयो । ‘राम्रो गर्नेलाई सम्मान गर्ने र सकारात्मक सन्देश दिन सकेमा धेरै आयोजनाहरु समयमा सकिनेछन्,’ उहाँले भन्नुभयो,‘काम गर्ने वातावरण समेत स्थानीय तहले मिलाउन सक्नुपर्छ ।’

आयोजना कार्यालयका अनुसार २०७९ साल मंसिर २६ गते यो सडक खण्डको ठेक्का लागेको थियो । कालीका कन्ट्रक्सनसँग ३ अर्ब ३३ करोडको लागतमा ४५ किलोमिटर खण्डमा दश मिटरको चौडाईको कालोपत्र गर्नेगरी २०८२ मंसिर २५ मा सक्ने सम्झौता थियो । तर जेठ दोश्रो साता नै काम सकेकोले सम्मान गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख शर्माले जानकारी दिनुभयो ।

करिडोरको यो खण्ड बाहेक हर्मीचौर देखि रिडी सम्मको सडक अघिल्लो बर्ष नै कालोपत्रे भैसकेको छ । बागलुङको बलेवादेखि मालढुंगा सम्मको खण्ड भने अझै सकिएको छैन । आयोजना प्रमुख अधिकारीले काम सम्पन्न भएको कम्पनी र श्रोत अभावमा काम रोकेका ठेकेदारलाई भुक्तानी दिन नपाएको भन्दै राज्यले श्रोत सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

उहाँले समय अगावै निर्माण सम्पन्न गर्न स्थानीय जनप्रतिनिधिले पनि ठूलो योगदान पु¥याएको भन्दै यो सम्मानको भागिदार स्थानीय जनप्रतिनिधि पनि भएको बताउनुभयो । ‘तोकिएको समयभन्दा सात महिना अगाडी निर्माण सम्पन्न गर्न समर्पण, त्याग, धैर्यता, मिहेनत र स्थानीय तहको सहयोगको परिणाम हो,’ उहाँले भन्नुभयो,‘सवैको संयुक्त प्रयासले समयमै निर्माण गर्न सफल भएका छौं । गौरव गर्न लायक काम भएको छ ।’ नेतृत्वमा बसेर पनि समय अघि काम सक्ने जस पाएको भन्दै मेहेनत र इमान्दारीताले सफलता मिलेको बताउनुभयो ।

यो आयोजना समयमा सकिंदा ठेकेदारको ६ महिना समय बचेको भन्दै जनताको लाखौंलाख बचत भएको, कमाइको बाटो खुलेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुभयो । उहाँले विकास निर्माणका योजनाहरु समयमै सम्पन्न गर्न सवैले पहल गरिनुपर्नेमा जोड दिनुभयो ।

ठेकेदार कम्पनी कालीका कन्ट्रक्सनका आयोजना प्रमुख महेश सुवेदीले करिडोरको कालोपत्रमा आफ्नो अनुभव, ज्ञान र स्रोत साधनको अधिकतम प्रयोग गरेर समयमै काम गर्न सफल भएको बताउनुभयो । ‘स्थानीय नागरिकको सहयोग र कम्पनीको लगनशिलताले समयमै काम सम्पन्न गर्न सफल भएका छौं,’ उहाँले भन्नुभयो,‘सम्पन्न गरिसक्दा समेत सरकारबाट अझै बजेट विनियोजित भएको छैन ।’

करिडोर स्तरीय बनेपछि जैमिनीको कुश्मीसेरा देखि दैनिक बुटवलकालागि बस सेवा संचालन भैसकेको छ । सडक कालोपत्रे भएपछि १०–१२ घण्टा लाग्ने सडक अहिले ५ घण्टामा छोटिएको छ ।