
बागलुङ, १५ जेठ । गण्डकी प्रदेश सभा प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्पादेवी खड्काले गणतन्त्रको विकल्प नभएको बताउनु भएको छ। १८औं गणतन्त्र दिवसको अवसरमा बिहीबार बागलङमा आयोजित कार्यक्रममा बोल्दै नेपालमा गणतन्त्र संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्ने भन्दै गणतन्त्रको विकल्प नभएको बताउनु भएको हो ।
संविधान सभा सदस्य समेत रहनु भएका उहाँले पुरानो व्यवस्थामा फर्कने केही स्वरहरु सुनिन थालेको भन्दै अहिलेको व्यवस्थालाई बलियो बनाउन सुधार आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो ।
संविधान सभा सदस्य प्रकाश शर्मा पौडेलले गणतन्त्रलाई बलियो बनाउनका लागि हाम्रा कार्यशैली, व्यवहार र आचरणहरूमा सुधार गर्नुपर्ने बताउनुभयो ।
नागरिकका आशातीत अपेक्षा पुरा नहुँदा कहीँ कतै वितृष्णा र टिका टिप्पणीका स्वरहरू सुनिने गरेका भन्दै राज्य संचालकले कार्यशैली, व्यवहार र आचरणहरू सुधार गर्न सक्नुपर्ने बनाउनु भयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दिपेन्द्र बहादुर थापा, नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, अन्तरपार्टी महिला सञ्जाल बागलुङका अध्यक्ष सिता सापकोट कँडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङको स्वागत र जिल्ला समन्वय समितिका दुर्गा प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम हुनु पुर्व दिवसको अवसरमा बागलुङ बजारमा प्रभातफेरी गरिएको थियो ।
यस्तै बिहिबार साँझ अन्तरपार्टी महिला सञ्जालको व्यवस्थापनमा बागलुङ नगरपालिका–२ मा रहेको एतिहासिक पार्कमा दिप प्रज्ववलन गरिएको छ ।











