प्रेस युनियनको स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल

बागलुङ, १५ जेठ । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरिएको छ । नेपाल प्रेस युनियन बागलुङले पत्रकार महासंघ बागलुङ र पत्रकार सम्बद्ध पेशागत संघ संगठनका बीचमा मैत्रीपूर्ण फुटसलको आयोजना गरेको हो । मैत्रीपूर्ण खेल महासंघ विरुद्ध १४—१२ गोल अन्तरले पेशागत पत्रकार संघ संगठन विजयी भएका छन् ।

मैत्रीपूर्ण खेलमा सहभागी भएकोमा नेपाल पत्रकार महासंघलाई कार्यक्रमका प्रमुख अतिथी जैमिनी नगर उपप्रमुख हरिहर शर्माले ट्रफी प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सचिव समेत रहेका शर्माले मैत्रीपूर्ण खेलकुदले पत्रकारबीचमा आपसी भाईचाराको विकास हुनुका साथै स्वास्थ्य प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पत्रकारहरुले सबै क्षेत्रको निगरानी गर्दै गर्दा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने बताए ।

‘पत्रकारले समाजको निगरानी गर्दै गर्दा आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ,’उनले भने,‘मैत्रीपूर्ण खेलकुद प्रतियोगिताले भाईचारा र सद्भावको विकाससंगै स्वास्थ्यमा पनि लाभ पु¥याउनेछ ।’ प्रेस युनियन नेपालकै पत्रकारिता जगतको अग्रणी संस्था भएकाले यसले पत्रकारको हकहित र लोकतन्त्रको रक्षार्थ आवाज उठाउनुपर्ने बताए ।

‘पत्रकारको संगठन भएको नाताले पत्रकारसंग सम्बन्धित हक अधिकार र क्षमता विकासका कुरामा त प्रेस युनियनले आवाज उठाउँछ नै,’उनले भने,‘त्यसमाथि लोकतन्त्रको संस्थागत विकास र उन्नयनका लागि पनि यहाँहरुले भूमिका खेल्नुपर्छ ।’ नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डम्मर बुढाले गरेका थिए । स्थापना दिवसकै अवसरमा युनियनले १६ गते बिहान अग्रज पत्रकारसंग संवाद कार्यक्रम उबेलाको पत्रकारिता कार्यक्रम आयोजना गरेको छ ।