
बागलुङ, १२ जेठ । बागलुङको काठेखोला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गाउँपालिकामा खोप लगाउनुपर्ने सवै बालबालिकाले खोप लगाएपछि सोमबार पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको काठेखोला गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सोमराज पाण्डेयले बताउनुभयो ।
पालिका स्तरीय खोप समन्वय समितिले शुन्यदेखि १५ महिना उमेर समुहका २ सय २७ जना बालबालिका र १६ महिना देखि २३ महिना उमेर समुहका २ सय ७ बालबालिकाले पूर्ण खोप लगाएसँगै काठेखोला गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा भएको हो ।
समितिले चालु आर्थिक वर्षमा खोजपड्ताल कार्यक्रम संचालन गरेर खोपको मात्रा पुरा नगरेका २ बालबालिकालाई खोपको दायरामा ल्याएको थियो । बैशाख महिनामा गाउँपाकिाका ८ वटै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएपछि सोमबार पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पाण्डेयले बताउनुभयो । गाउँपालिकाको स्वास्थ्य शाखाले प्रत्येक वर्षको माघ, फागुन र चैत महिनामा पालिकाले आफ्नो पालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाहरूको खोजी कार्य गर्ने र कोहि छुटेको भए खोप लगाईदिने गरेको उहाँले भनाई छ ।
जिल्ला समन्वय समितिको प्रमुखको अध्यक्षमा बनेको जिल्ला खोप समन्वय समितिले पालिकाहरूलाई पूर्ण खोप सुनिश्चित एवम् दिगोपन पालिका घोषणा गर्दै आएको छ । खोप समन्वय समितिले हरेक वर्ष पालिकाहरू भित्र १६ देखि २३ महिना सम्मका बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खाले खोप लगाए नलाएको अनुगमन गरेर पालिकाहरूलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने गरिएको छ । समितिले सोमबार काठेखोलालाई पूर्ण खोप सुनिश्चित एवम् दिगोपन पालिकाको प्रमाणपत्र हस्तान्तरण गर्यो ।
घोषणा कार्यक्रममा बोल्दै जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले खोप महत्वपूर्ण कुरा भएकोले सरकारले महत्व दिएर कार्यक्रम संचालन गरिरहेको बताउनुभयो । उहाँले हरेक वर्ष बालबालिकाले पाउनुपर्ने खोप पुरा भएमा दक्ष नागरिक उत्पादन गर्न सहज हुने सरकारले लक्ष्य राखेकोले सोहीअनुसार हरेक वर्ष सबै बालबालिकालाई आवस्यक खोप लगाएर पूर्ण खोप र दिगोपनाको घोषणा गर्दै आइएको बताउनुभयो ।
उहाँले पछिल्लो समय आयातित खाना खाँदा विरामी हुनेहरुको संख्या बृद्धि भएको बताउँदै स्थानीय खानालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । ‘बाहिरबाट ल्याएको खाना खाँदा विभिन्न रोग लाग्ने जोखिम बढेको छ । त्यसले गर्दा विरामी हुनेको संख्यामा पनि वृद्धि भएको छ,’ उहाँले भन्नुभयो,‘स्थानीयस्तरमा उत्पादन भएका खानालाई प्राथमिकत दिएर प्रयोग गर्नुपर्छ ।’
कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटा, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सामाजिक विकास समितिका संयोजक एवं काठेखोला गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष खडक बहादुर थापाको स्वागत र स्वास्थ्य शाखाका प्रमुख सोमराज पाण्डेयको संचालनमा सम्पन्न भएको थियो ।









